
काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आव प्रधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको जानकारी दिएका छन् । आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणले उक्त नाफा आर्जन गरेको घिसिङको भनाई छ । त्यसो त प्राधिकरणको आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो । गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात बढेका कारण नाफा प्रभावित भएको घिसिङ्ले बताए । त्यस्तै, प्राधिकरणले सर्वसाधारणका लागि पनि सेयर जारी गर्ने तयारी भइरहेको घिसिङको भनाई छ ।
गुगल-अमेजन लगायतका कम्पनीबाट करोडौं राजस्व
सरकारले नेपालमा विद्युतीय सेवा कारोबार गर्ने विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरुबाट करिब ९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका विभिन्न नौ अन्तर्राष्ट्रिय विद्युतीय कम्पनीबाट सरकारले गत आर्थिक वर्षको मूल्य अभिवृद्धि कर उठाएको हो । यस्तै, कर संकलनका लागि नेपाल सरकारले गत वर्ष गैरबासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी कार्यविधि जारी गर्दै कर भुक्तान गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसलगत्तै चर्चित अन्तराष्ट्रिय आइटी कम्पनी दर्ता भएका थिए । हालसम्म गुगल एसिया प्यासिफिक, लिंक्डइन, गुगल आयरल्यान्ड, एनसिएस पिअर्सन इन कर्पोरेसन, अमेजन डटकम सर्भिस र अमेजन वेभ सर्भिस नेपालस्थित कर कार्यालयमा दर्ता भएका छन् ।
निर्माण व्यवसायीको आन्दोलन थप सशक्त
पछिल्लो समय निर्माण व्यवसायीहरुको आन्दोलन थप शसक्त बन्दै गएको छ । काम सम्पन्न भएपछि सम्बन्धित निकायबाट बिल स्वीकृत हुँदासमेत भुक्तानी पाउन नसकेकोे भन्दै निर्माण व्यवसायीहरुले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार हाल सम्बन्धित आयोजना प्रमुख, कार्यालय, विभाग तथा मन्त्रालयबाट स्वीकृत भएको बिलको मात्र झन्डै १० अर्ब भुक्तानी पाउन बाँकी रहेको छ । निर्माण व्यवसायीहरुले दैनिकजसो काठमाडौँ स्थीत संसद भवन अगाडि कोण सभा गर्ने र संसद भवनदेखि माइतीघर–बबरमहल हुँदै हनुमानस्थानमा जुलुस निकाल्दै धर्ना दिदै आएका छन् । यसबाट पनि माग पुरा नभए २८ साउन गतेदेखि अत्यावश्यक बाहेक सबै निर्माण कार्य अनिश्चितकालका लागि बन्द गरिने महासंघले चेतावनी दिएको छ ।
विकास बैंकहरुको परिसुचकमा गिरावट
पछिल्लो समय विकास बैंकहरुका अधिकांश परिसुचक खुम्चिएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९–८० मा राष्ट्रिय स्तरका विकास बैंकको लाभांश क्षमता, खुद मुनाफा, सेयरधनीलाई दिने लाभांश क्षमता, प्रति सेयर आम्दानी लगायतका सुचकहरु खुम्चिएका छन् । जसमा गत आर्थिक वर्ष ८ वटा विकास बैंक मध्ये तीन बैंकको नाफा बढेको छ । बाँकी ५ विकास बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । विकास बैंकको नाफा समग्रमा तुलना गर्दा ९ प्रतिशतको हाराहारीमा घटेको देखिएको छ । यसैगरी, गत आवको चौथो त्रैमाससम्म आउँदा ८ वटा विकास बैंक मध्ये ७ वटा विकास बैंकको वितरण योग्य नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।
मासिक सय रुपैयाँमै डिसहोम टीभी हेर्न सकिने
डिशहोमले १०० रुपैयाँमा नै टिभी हेर्न मिल्ने प्याकेज ल्याएको छ । डिशहोमले आफ्ना ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा दिने गरि उक्त प्याकेज ल्याएको हो । डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र १०० रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने कम्पनिको दाबी छ । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि उक्त अफरको लाभ उठाउन सकिने कम्पनिले बताएको छ । साथै पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर उक्त अफर लिन सक्ने कम्पनिको भनाई छ । यस्तै अफरमा ग्राहकले उच्च गतिको इन्टरनेटसँगै ६० भन्दा बढी एचडी च्यानल समेत पाउने छन् ।