विश्व बल्लभ, दीपक जंगम र तारा थापा सम्मानित

विश्व बल्लभ, दीपक जंगम र तारा थापा सम्मानित

काठमाडौं ।

स्वर साधिका तारा देवीको १८औँ पुण्य स्मृतिमा मंगलबार राजधानीमा सम्झनामा तारा देवी नामक स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ।

काठमाडौं महानगरपालिका, टोखा नगरपालिका, बूढानीलकण्ठ नगरपालिका लगायतको सहकार्यमा तारा देवी स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा विभिन्न एक दर्जनभन्दा बढी गायक–गायिकाले तारा देवीका गीत गाएर उनको सम्झना गरेका थिए।

राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न कार्यक्रममा नेपाली नेपाली गीत–संगीत फाँटको विभिन्न विधामा योगदान पुर्‍याउने तीन हस्तीलाई सम्मानित गरिएको छ।

सो अवसरमा गीतकार विश्व बल्लभ, संगीतकार दीपक जंगम र गायिका तारा थापालाई जनही २५ हजार रुपियाँसहित सम्मान गरिएको छ।

सम्मानित संगीतकर्मीले तारादेवीको स्मृतिमा स्थापित फाउन्डेसनबाट सम्मानित हुन पाउँदा गौरवान्वित महशुस भएको जनाउँदै तारादेवीका गीतको उचित संरक्षण हुन नसकेकोमा दुःख व्यक्त गरे।

तारादेवीकै गीतहरूमा नृत्यसमेत प्रस्तुत गरिएको कार्यक्रम गायक सञ्जीव आले मगर र गायिका गीता पाण्डेले रत्न समशेर थापाको रचना तथा नातिकाजी र शिव शंकरको संगीत रहेको मुस्कानका लहरहरू बोलको गीत प्रस्तुत गरेर सुरुवात गरेका थिए।

त्यसैगरी निशा देसारले विश्व बल्लभको शब्द र नातिकाजीको संगीतको शुभकामना भरी बोलको गीत गाएर कार्यक्रममा सांगीतिक माधुर्यता प्रदान गरेका थिइन् भने गायिका शर्मिला लामाले धर्मराज थापाको शब्द र नातिकाजीको संगीतमा कालीपारे दाइ कति राम्रो गीत गाएर दर्शक लोभ्याएकी थिइन्।

त्यसैगरी, गायक गायिका अजर जंगम र जिना रसाईलीले अँगालो हालेर बोलको गति प्रस्तुत गरेका थिए भने अनिल सुनाम र बबिना भट्टराईले तिम्रो नाम अझै छ ओठमा, झुमा निरौलाले माझी दाइ तारी नदेऊ प्रस्तुत गरेर कार्यक्रममा रौनकता छरेका थिए।

त्यसैगरी, बबिना भट्टराईले आँखाहरूले रुन नखोजे, अञ्जुली हमालले किन हो यति भरोसा, अग्र्रिमा रिजालले तिम्रा पाउहरूमा, गीता पाण्डेले कर्कलो गाभा, जिना रसाइलीले फूलै फूलको मौसम तिमीलाई प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय बनाएका थिए।

कार्यक्रममा प्रस्तुत गीतहरूका लागि डेढ दर्जनभन्दा बढी वाद्यवादक समूहको वाद्यवादनमा साथ दिएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *