वीरगन्ज महानगरले ल्यायो ३ अर्ब २१ करोडको बजेट, लामखुट्टे मुक्त महानगर बनाउन छुट्याइयो ३५ लाख

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि वीरगञ्ज महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।

बुधबार वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले नगरसभाको १३औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

विनियोजित बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ अर्थात ७७ प्रतिशत रकम विनियोजन गरिएको छ । यस्तै, पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ अर्थात २२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात १ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट महानगरको चालु आर्थिक वर्षसँग तुलना गर्दा १२ करोड २८ लाख बजेट कम विनियोजन भएको छ । बजेटमा पूर्वाधार, खेलकूद, शिक्षा, खानेपानी, स्वास्थ्यलगायत विभिन्न शीर्षकमा रकम विनियोजन भएको छ ।

यातायात पूर्वाधार क्षेत्रतर्फ ५९ करोड, खेलकुद क्षेत्रका लागि १ करोड, शिक्षाका सुधारका लागि १२ करोड २० लाख, खानेपानी तथा सरसफाईका लागि १२ करोड र स्वास्थ्य क्षेत्रतर्फ ३ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।

बजेटमा लामखुट्टे मुक्त महानगर अभियानतर्फ लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्कनका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top