काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जोसुकै र जुनसुकै तहका व्यक्ति भए पनि कानूनी कारबाहीको दायरामा ल्याइछाड्ने बताएका छन् ।
आज बिहीवार प्रतिनिधि सभाको बैठकमा सांसद मेटमणि चौधरीले सांसद शेरबहादुर कुँवरमार्फत सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले दोषी जुनसुकै तहका पदाधिकारी तथा भीआईपी नै भए पनि कारबाही गर्न बाँकी नराख्ने बताएका हुन् । उनले प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा हालसम्म कुनै पनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने प्रतिबद्धता जनाए ।
‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन । र बाँकी राख्ने पनि छैन,’ प्रधानमन्त्रीले भने, ‘नेपाल प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप भएको छैन । हस्तक्षेप गरिने छैन । र हस्तक्षेप हुन दिइने पनि छैन । भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानून अनुसार अनुसन्धान र कारबाही हुने व्यहोरा म प्रष्ट गर्न चाहन्छु । दोषी कोही पनि उम्किन नपाओस् । निर्दोष कोही पनि नपरोस् भन्ने हाम्रो जोड रहेको छ । जुनसुकै तह र तप्काका भए पनि यो अपराधमा संलग्न जोसुकै पनि कानूनको दायरामा आउने नै छन् ।’
उनले यस प्रकरणमा भीभीआईपीहरु समेत पक्राउ परिसकेको बताउँदै यसमा स्वतन्त्र र निष्पक्ष रुपले छानबिन भइराखेको कुरा छर्लंग रहेको बताए । उनले भने, ‘यस्ता विषयमा सरकारले कुनै आग्रह या कुनै पूर्वाग्रह नलिइ निष्पक्ष, तटस्थ र व्यवसायिक छानबिन गरी अन्तिम निस्कर्ष निकाली अपराधिलाई कानूनको दायरामा ल्याउन जोड गरेको छ । प्रधानमन्त्रीको हैसियतले मैले उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई यसमा दृढतापूर्वक र निष्पक्षताका साथ दोषी नउम्कने र निर्दोष नपर्ने नीति अन्तर्गत अगाडि बढ्न निर्देशित गरेको छु ।’
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याएर मात्रै सुशासनको नयाँ प्रक्रियाको थालनी गर्न सकिन्छ भन्नेमा सरकारको विश्वास रहेको उनको भनाइ थियो ।




