
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । खनालले नक्कली भूटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताए । अनुसन्धानलाई अन्तिमसम्म लैजान उनले आग्रह गर्दै अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए ।
खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिँदै भने, ‘नक्कली भूटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ । संलग्न देखिएका मानिसलाई धिक्कार छ । यो लज्जास्पद छ । यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन् । आन्दोलनको सम्भावना छ । यो आजको सरकार र प्रहरीले सुनोस् ।’