काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बहसको क्रममा जारी छ । यसक्रममा तत्कालीन गृह सचिव टेकनारायण पाण्डेविरुद्ध प्रतिशोध साँधेर मुद्दा चलाइएको जिकिर इजलासमा गरिएको छ । सोमबार जिल्ला अदालत काठमाडौँमा बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले केशव दुलालको बयानकै आधारमा पाण्डेलाई पक्राउ गरेर मुद्दा चलाइए पनि सोही प्रकरणमा नाम पोलिएका एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, सचिवालय सदस्य अजयक्रान्ति शाक्यविरुद्ध किन मुद्दा चलाइएन भन्दै प्रश्न गरे । पाण्डेको पक्षमा बहस गर्दै श्रेष्ठले कानुन सबैलाई समान हुनुपर्ने बताए । टेकनारायणलाई चल्दै नचल्ने मुद्दा चलाइएको उल्लेख गर्दै उनले बहालवाला सचिवलाई मुद्दा चलाउनुअघि अनुमति लिनुपर्ने प्रावधान पनि पूरा नगरिएको जिकिर गरे ।
बहसका क्रममा श्रेष्ठले भुटानी शरणार्थीका सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न ०७६ कात्तिक १७ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा एक बैठक बसेको पनि स्मरण गराए । बैठकमा बादलसहित प्रेम राई (तत्कालीन गृह सचिव), राजन खनाल (तत्कालीन अर्थसचिव), शंकर बैरागी (तत्कालीन परराष्ट्र सचिव) तथा मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवाली सहभागी रहेकोतर्फ ध्यान दिनुपर्ने श्रेष्ठको भनाई छ ।
गौर हत्याकाण्डको सुनुवाई भएन
गौर हत्याकाण्ड सम्बन्धी सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाइ सोमबार पनि स्थगित भएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ हुने गरी पेसी तोकिए पनि ‘बेञ्च बस्न नभ्याएको’ भन्दै सुनुवाइ हुन नसकेको हो । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
शैक्षिक प्रमाणपत्र माग्ने निर्णयबाट पछि हट्यो साउदी
नेपालस्थित साउदी दूतावास शैक्षिक प्रमाणपत्र अनिवार्यको निर्णयबाट पछि हटेको छ । दूतावासले सोमबारदेखि भिसा जारी गर्नका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । तर, अन्तिममा आएर शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छैन । सोमबार दूतावासमा भिसाका लागि पेश गरिएका निवेदनहरूलाई शैक्षिक प्रमाणपत्र अनिवार्य गरिएन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सोमबारदेखि लागू गर्ने भनेको शैक्षिक प्रमाणपत्र नमागेको हो । दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य हुने सूचना जारी गरेपछि चौतर्फी विरोध सुरू भएको थियो । चौतर्फी दबाब तथा सरकारको समेत चासो देखिएपछि दूतावास पछि हटेको हो । साउदीको यो नीतिले कामदारमाथि शैक्षिक प्रमाणपत्र जुटाउनुपर्ने झन्झट थपिएको थियो । गत आर्थिक वर्षमा १ लाख २५ हजार २३७ जनाले साउदी अरब जानका लागि श्रम स्वीकृति लिएका थिए । साउदी जाने मध्ये अधिकांश अदक्ष कामदार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । खाडी जाने कामदारमध्ये ५७.६ प्रतिशत अदक्ष कामदार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदन–२०२२ ले देखाएको छ ।
घेराउमा परेपछि सांसदलाई फसाद
गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभा सचिवालय घेराउ गरिएको छ । विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित संघर्ष समितिले सोमबार प्रदेशसभाको मूल गेट अगाडि धर्ना दिदै घेराउ गरेको हो । प्रदेशसभा घेराउ गरिएपछि प्रदेश सभा बैठकमा सहभागी हुने सांंसदहरु पछाडिको गेटबाट सभा परिसरमा प्रवेश गरे । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आइतबार समेत सुदूरपश्चिम प्रदेशमा आम हड्ताल गरेको थियो । २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो तर १५ जेठमा सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैयाको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको थियो । सरकारले आफ्नै निर्णयविपरीत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको हो ।
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै हो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री एनपी साउँदले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका छन् । सोमबार कञ्चनपुर–२ का नेपाली कांग्रेसका नेताहरुसँग परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उनले यस्तो बताएका हुन् । उनले गेटामा स्थानीय वासिन्दाको चाहना अनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भनि आफु पूर्ण रुपमा प्रतिबद्ध रहेको बताए । ‘प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेताहरु मन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो’, साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले भने, ‘मन्त्रीज्यू प्रतिष्ठान नभएर मेडिकल युनिभर्सिटी नै बन्छ, यसमा सरकार प्रतिवद्ध छ भन्नुभयो ।’ भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि दाबी गरे ।
गेटा विश्वविद्यालय बनाउन प्रतिबद्ध छु : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन पहल जारी राखेको बताएका छन् । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री शाहले यस्तो जानकारी गराएका हुन् । संघीय सरकारले नीति तथा कार्यक्रम र बजेटले उल्झन देखाएको भन्दै उनले प्रदेश सरकार राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रतिबद्ध रहेको समेत स्पष्ट पारेका छन् । गेटा मेडिकल कलेज सुदूरपश्चिम प्रदेश र सिंगो मुलुककै स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको केन्द्रको रुपमा विकास हुन पर्ने चाहना रहेको विज्ञप्तीमा उल्लेख छ । सुदूरपश्चिमबासीको माग र चाहना बमोजिम संघ सरकारले गेटामा विश्वविद्यालय स्थापना गर्नका लागि कानुनी प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री शाहले बताएका छन् ।
मलेसियाबाट भैरहवा अवतरण गर्दै नेपाल एयरको विमान
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले मलेसियाको क्वालाम्पुरबाट पहिलो व्यवसायीक उडान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातिले नेपाल एयरलाइन्सले भैरहवामा मलेसियाबाट यात्रु बोकेर उडान भर्ने जानकारी दिएका छन् । मंगलबार बिहान ७ बजेट ४० मिनेट जाँदा विमान अवतरण हुने किरातिले जानकारी दिएका छन् । भैरहवा विमानस्थल निर्माणको १३ महिनापछि नेपाल एयरलाइन्सकले व्यवसायीक उडान गर्ने भएको हो । भैरहवामा अवतरण हुने विमानमार्फत आउने यात्रुलाई स्वागत गर्न मन्त्री किराति आफै भैरहवा जाने भएका छन् । भैरहवा विमानस्थलमा अन्तराष्ट्रिय उडानले निरन्तरता पाउन नसक्दा यसको औचित्यमाथि नै प्रश्न उठिरहेको छ । तर, पछिल्लो समय विदेशी एयरलाइन्सले समेत चासो राख्दै आएको बताइएको छ ।