शरणार्थी प्रकरण : टोपबहादुर र इन्द्रजितले अदालतमा गरे इन्कार

शरणार्थी प्रकरण : टोपबहादुर र इन्द्रजितले अदालतमा गरे इन्कार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको वयान लिनेक्रम जारी छ । यसैक्रममा टोपबहादुर रायमाझी र इन्द्रजित राईले आफ्नो यस प्रकरणमा संलग्नता नरहेको इन्कारी वयान दिएका छन् ।

वयानमा टोपबहादुरले आफ्नो छोराको संलग्नताबारे मुख खोलेका छैनन् भने इन्द्रजित राईले पनि लेनदेनका विषयमा कुरा खोलेनन् । प्रेमकुमार राईसँगको लेनदेनमा पनि उनले इन्कार गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र इन्द्रजित राईले जिल्ला अदालत काठमाडौँमा आफ्नो इन्कारी बयान दिएका छन् । टोपबहादुरले आफुमाथि लगाइएको आरोप र प्रहरी बयानमा उल्लेख गरेका सबै विषयवस्तुमाथि अदालतमा इन्कारी बयान दिएका हुन् ।

वयानमा उनले शरणार्थी प्रकरणका अर्का आरोपी केशव दुलाललाई राजनीतिक कार्यक्रममा दुई पटक भेट भएको बताएका छन् ।

त्यस्तै अर्का आरोपी सानु भण्डारीमार्फत आफुले पैसा बुझेको विषय झुटा आरोप मात्रै भएको र सानुलाई आफुले व्यक्तिगतरुपमा नचिन्ने रायमाझीको वयान छ ।

आफ्नो राजनीतिक छवि धुमिल्याउन दुलालले आफ्नो नाम कसैको उक्साहटमा आएर लिएको समेत उनले वयान दिएका छन् ।

यस्तै, टोपबहादुरले आफ्नो छोरामाथि लागेको आरोपबारे मुख खोलेका छैनन् । उनले छोरालाई ४० लाख दिएको भन्ने सन्दर्भमा मेरो छोराले नै स्पष्ट पार्ने कुरा हो भन्दै यसबारे बोल्न इन्कार गरेका छन् ।

यता, नक्कली शरणार्थी प्रकरणकै अर्का अभियुक्त इन्द्रजित राईले समेत यस प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जेठ १६ गते दिएको बयानमा राईले आफूमाथि लगाएका सबै आरोप गलत रहेको भन्दै आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै प्रकारले संलग्न नभएको दाबी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अन्य केही प्रतिवादीले राईलाई नेपाली नागरिकलाई भुटानी शरणार्थीका रुपमा अमेरिका पठाइदिने बापत नगद रकम दिएको बयान दिएका छन् । तर राईले उनीहरुको बयानसमेत झुटा रहेको भन्दै आफूले यसबारे कसैसँग पैसा नलिएको दाबी गरे ।

प्रेमकुमार राईलाई पैसा दिनुपर्दछ भनी आफुले नभनेको समेत उनले वयान दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा गर्दा गरेको छ । २२७१ दर्ता नम्बर रहेको यो मुद्दामा २७ करोड ८१ लाख रुपैयाँ विगो समेत कायम गरिएको छ । मुद्दामा अभियुक्तमाथि हदैसम्मको सजाय माग दाबी गरिएको छ ।

उनीहरूमाथि संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी, सरकारी किर्ते र एकीकृत कसुरमा अभियोजन लगाइएको छ ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा र उनका सल्लाहकार ईन्द्रजित राई र इन्द्रजितका छोरालगायतका ३० जना अभियुक्त रहेका छन् ।

 

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *