हेमजा । लियो क्लब अफ पोखरा नर्थको आयोजनामा माछापुच्छ्रे गाउँपालिका–१ स्थित शारदा माविमा बिहीबार निशुल्क दन्त शिविर सञ्चालन भएको छ । कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा विद्यार्थी तथा शिक्षक गरी कुल १ सय ९५ जनाले दन्त परीक्षण गराए ।
जसमध्ये कुल १० प्रतिशतमा स्केलिङ, आरसिटी, दाँत झिक्नुपर्ने, दाँत भर्नुपर्ने समस्या देखिएकोमा अन्यको अवस्था भने सामान्य रहेको कान्तिपुरका सिइओ प्रतीकमान श्रेष्ठले जानकारी दिए ।
त्यस अवसरमा सार्वजनिक स्वास्थ्य अधिकृत आयुषा अधिकारीले दन्त शिविरमा परीक्षण गराएका बिरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरिन् ।
प्रधानाध्यापक चाहना पुनले दन्त परीक्षणसहितको जनचेतना कार्यक्रम गरी सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।
लियो क्लब अफ हेमजाका अध्यक्ष एवं सञ्चारकर्मी निराजन अधिकारीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै शैक्षिक गतिविधिका अलावा विद्यार्थीहरू सामाजिक कार्यमा पनि लाग्नुपर्नेमा जोड दिए ।
क्लब अध्यक्ष मनीष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रम प्रथम उपाध्यक्ष अनीश दाहालले सञ्चालन गरे ।