शिक्षा, कृषि, पर्यटन र रोजगारमा कति बजेट ?

शिक्षा, कृषि, पर्यटन र रोजगारमा कति बजेट ?

  • सुश्मिता वानिया

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट सार्वजनिक गरेको छ । सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदमा आगामी वर्षको लागि सरकारका तर्फबाट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । आगामी बजेटका प्राथमिकतामा कृषि, पर्यटन, रोजगार तथा शिक्षामा के कस्ता कार्यक्रम छन् त ?

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत विनियोजन गरिएको छ ।

सो बजेटका लागि १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजस्वबाट स्रोत जुटाइने भएको छ । त्यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड तथा आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब जुटाइने लक्ष्य लिइएको छ । अर्थतन्त्र चलायमान बनाउने प्रमुख पक्ष कृषि, पर्यटनको बजेट उल्लेख्य बढेको छ । भने, रोजगार र शिक्षालाई बजेटले जोड दिएको देखिन्छ ।

कृषि

सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । आगामी वर्षका लागि अर्थमन्त्री महतले कृषिमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेका छन् । चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जुन गत आर्थिक वर्षको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ । कृषि बजेटतर्फ आगामी वर्षका प्राथमिकतामा पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने भएको छ । कृषिमा पनि युवा स्टार्टअप प्रवद्र्धन गरिने र कृषिमा युवा परिचालन गर्न एक अर्ब २० करोड बजेट छुट्याइएको छ ।

पर्यटन

पर्यटन क्षेत्रमा आगामी बजेटमा चालू बजेटको तुलनामा करीब अढाइ अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ । आगामी वर्ष ०८०/०८१का लागि सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पर्यटन क्षेत्रका लागि चालु वर्षमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी बजेटमा पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताएका अर्थमन्त्री महतले सन् २०२३ देखि २०३२ लाई पर्यटक दशकका रूपमा मनाइने घोषणा गरेका छन् । त्यस्तै, २०२३ मा १० लाख पर्यटन भित्राइने बताएका छन् ।

रोजगार

सरकारले स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताएपनि आगामी आर्थिक वर्षका लागि बजेट घटाइएको छ । सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू वर्षमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा ९ अर्व १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशिलता प्रवर्द्धन वर्ष घोषणा गरेको छ । त्यसैगरी, अर्थमन्त्री डा. महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् । सरकारले आगामी वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट विनियोजन गरेको छ ।

शिक्षा

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु वर्षमा शिक्षातर्फ संघमा ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनयोजन गरिएको थियो । त्यस्तै प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ बजेट हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी, सरकारले अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरु पनि सहभागी हुन पाउने कानुनी व्यवस्था गर्ने भएको छ । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा दिन पाउँथे । यसैगरी खुला प्रतिस्पर्धाबाट प्रधानान्याधापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारले जनाएको छ ।

शैक्षिक सत्र सुरु हुनु अगावै सामुदायिक विद्यालयहरुका सबै विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक र विद्यालयमा पाठ्यपुस्तक तथा पाठ्यक्रमको विद्युतीयप्रति पनि उपलब्ध गराइने छ । यस कार्यक्रमको लागि तीन अर्ब ५८ करोड बजेट छुट्याइएको छ । त्यसैगरी, सरकारले वितरण गर्दै आएको विद्यालय खाजामा अब जङ्क फूड दिन नपाइने भएको छ । विद्यालय खाजाबाट ३२ लाख विद्यार्थीले लाभ लिने अर्थमन्त्री महतले घोषणा गरेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *