कपिलवस्तु , २८ भदौ ।
शिवराज नगरपालिका सुरही खोलामा बालुवाको चोरी निकासी बढे पनि सरोकारवाला निकाय भने मौन देखिएको छ । दिउँसो तथा रातिको समयमा खोलामा ट्र्यक्टर लगाएर नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गर्दा पनि प्रहरीले त्यसलाई रोक्न चासो देखाएको छैन ।
सुरही खोलाको हल्लानगर , हरहट्टी ,बिशुनपुर तथा लक्ष्मणघाट लगायतका नाकाबाट बालुवा पदार्थ चोरी निकासी हुने गरेको पाइएको छ । हरेक वर्ष असारदेखि भदौ महिनासम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने व्यवस्था छ । अन्य समयमा पनि स्थानीय तहले लगाउने व्यवस्थित ठेक्कामार्फत वा आवश्यक राजस्व बुझाएरै मात्रै उत्खनन् र निकासी गर्न पाइन्छ । तर, खोलामा प्रवेश नै गर्न नपाइने अवधिमा पनि रातको समयमा नदीजन्य पदार्थ उत्खनन् र चोरी हुँदा राजस्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खन्नले जोखिम बढाएको छ ।
सुरही खोलाबाट केही व्यक्तिहरूले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि त्यहाँका स्थानीय जनप्रतिनिधिहरु मुकदर्शक बनेका छन ।
नदीजन्य पदार्थ चोरी भएको विषयमा नजिकै रहेको सशस्त्र प्रहरी बेश क्याम्पका प्रमुख हरि रिमालबाट बुझ्दा आफू नयाँ आएकोले कार्यक्षेत्र कहाँ सम्म हो त्यो अहिले त्यो पनि पुर्ण जानकारी नभएको र बालुवा चोरी बारे आफुलाई कुनै जानकारी नभएको र बालुवा निकालिएको ठाउँ पनि नदेखिएको बताएका छन । वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक कपिलजंग शाहीले बालुवा तस्करी भइ रहेको जानकारी आउदै गरेको छ तर ती बालुवा चोरहरुलाई समात्न नसकेको स्वीकार गरे । उनकै अनुसार बालुवा चोर्न गएकालाई हल्लानगरका केही स्थानीयबीच राति कुटपिट भएको घटना हाम्रो कार्यलयमा पुगेको र तिनीहरुलाई बोलाएर छलफल गराइ घाइतेहरूको उपचार गराउने सहमतिमा पठाएको पनि बताए । निको भएपछि ती बालुवा र स्थानीयलाई बोलाएर फ़ेरि छलफल र अनुसन्धान गरिने पनि बताए । आफ्नो घुमुवा फेरिएकोले सहि सूचना समयमा पाउन नसकेकाले त्यस्तो अबैध रोक्न अलि गार्हो भएको शाहीले बताए । हप्ता दिन भन्दा बढी भइसकेको तस्करीमा जनप्रतिनिधि र प्रहरीले बेवास्ता गरेको देखिन्छ । । प्रहरी प्रशासनकै पनि मिलेमतोमा यस्तो काम भएको हाम्रो आशंका छ, यसले गर्दा हाम्रो करोडौंको राजस्व गुमिरहेको स्थानीयको गुनासो छ ।”