
बहादुरगन्ज, वैशाख १८,
कृष्णनगर नगरपालिकाको आयोजनामा आगामी वैशाख १९ र २० गते (२ मे र ३ मे २०२५) मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। शिवराज अस्पताल, बहादुरगञ्जमा आयोजना हुने उक्त शिविरमा मुटु तथा मृगौलासम्बन्धी विविध निःशुल्क सेवा प्रदान गरिनेछ।
शिविरमा उपलब्ध सेवाहरूमा निःशुल्क मुटुरोग तथा मृगौलारोग सम्बन्धी परामर्श, ईसीजी, इकोकार्डियोग्राफी, औषधि वितरण, र विशेषज्ञ चिकित्सकको परामर्श अनुसार निःशुल्क रक्त परीक्षण सेवा समावेश छन्।
शिविरमा सेभ द हर्ट काठमाडौं, नेपाल कार्डियो डाइबिटिज एण्ड थाइराइड सेन्टर, स्वास्थ्य मन्त्रालयअन्तर्गत हृदय रोग उपचार कार्यक्रम, शिक्षा मन्त्रालय, र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल को प्राविधिक सहयोग रहेको छ।
कृष्णनगर नगरपालिकाले मुटु र मृगौलाजस्ता गम्भीर रोगप्रति जनचेतना जगाउने र ग्रामीण क्षेत्रका जनतालाई निःशुल्क सेवा दिने उद्देश्यले यो शिविर आयोजना गरेको जनाएको छ।