
कपिलवस्तु । शिवराज नगरपालिका कार्यालयले बितेको आर्थिक वर्षमा गरिब लक्षित आवास निर्माणका लागि खरिद गरेको जस्तापात अहिलेसम्म पनि वितरण गरेको छैन । करिब आठ महिना बितिसक्दा पनि उक्त जस्तापात नगरपालिका परिसरमै अलपत्र अवस्थामा रहेको छ ।
स्थानीय बासिन्दाहरूले तत्काल आवास निर्माणका लागि सहयोगको अपेक्षा गरेका बेला नगरपालिकाले समयमै वितरण नगर्दा लाभग्राहीहरू लाभ लिन बन्चित भएका छन् । धेरै लाभग्राहीहरूले घर निर्माण गर्न नपाएर सहयोगको प्रतीक्षामा बस्नुपरेको गुनासो गरेका छन् ।
यस विषयमा नगरपालिकाले अहिलेसम्म कुनै स्पष्ट जानकारी वा कारण सार्वजनिक गरेको छैन । जनताका लागि खरिद गरिएको सामग्री समयमै वितरण नहुनु आफैंमा गैरजिम्मेवारीको परिचायक भएको स्थानीयहरूको भनाइ छ ।
उनीहरूले नगरपालिकाले तत्काल कदम चाल्दै आवासका लागि खरिद गरिएको जस्तापात लाभग्राहीसम्म तत्काल पुग्नुपर्ने बताउछन् ।





