
कमलेशचन्द्र गुप्त ।
कृषकलाई प्रोत्साहन गर्दै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका–७ मा कृषक सम्मान तथा उन्नत बीउ वितरण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा करिब १५० जना स्थानीय कृषकलाई सम्मान गर्दै उन्नत जातका बीउ उपलब्ध गराइएको छ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष अनुप कुमार चौधरीले कृषकको परिश्रमले नै देशको अर्थतन्त्र मजबुत हुने बताउँदै कृषकलाई सम्मान र प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आधुनिक प्रविधि अपनाई खेती गर्न कृषकलाई आग्रह समेत गर्नुभयो।
वडा सचिव राम प्रसाद चौधरीका अनुसार स्थानीय बाली र कृषकको आवश्यकतालाई ध्यानमा राखेर उन्नत बीउ वितरण गरिएको हो। कृषिमा आत्मनिर्भरता बढाउने र कृषकको मनोबल उच्च बनाउने उद्देश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। सम्मानित कृषकहरूले यस्ता कार्यक्रमले कृषिप्रति थप उत्साह र हौसला मिलेको प्रतिक्रिया दिएका छन्।



