
प्रभुनाथ गुप्ता लबनी , माघ १७
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अनुशासन र पहिचानका लागि खेलकुद’ भन्ने नाराका साथ वडा नम्बर २ को वरगदहवाको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो।
प्रदेश सभा सदस्य मधुसूदन शरण चौधरीले खेलको उद्घाटन गर्दै पालिकास्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने बताए। उनले खेलले खेलाडी उत्पादनमा मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताए।
शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, वडाअध्यक्ष मनोज कुमार यादव, मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष बजरंगी चौधरी लगायतले खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिए। उनीहरूले छैठौं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगिताले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा विद्यार्थीहरूलाई सहभागी हुन मद्दत पुग्ने बताए।
खेल संयोजक घनश्याम चौधरीले खेलकुद विद्यार्थीहरूको लागि अपरिहार्य रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना दिए। शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा लगायतले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीको खेलकुद विकासलाई सकारात्मक टेवा पुग्ने बताए।