
प्रभुनाथ गुप्ता
माघ १३, लबनी, कपिलवस्तु
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका स्थानीयहरूले अब निःशुल्क रक्त सञ्चार सेवा प्राप्त गर्ने भएका छन्।
शुद्धोधन गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्र बुटवलबीच आइतबार निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराउने सम्झौता भएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले जानकारी दिएका छन्।
अध्यक्ष चौधरीका अनुसार, यस सम्झौतासँगै शुद्धोधनवासीले सहज रूपमा निःशुल्क रगत प्राप्त गर्न सक्ने भएका छन्।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले यो सम्झौताले समग्र पालिकावासीलाई लाभ पुर्याउने बताउँदै पालिका जनताको पक्षमा काम गर्ने दिशामा अघि बढेको स्पष्ट भएको बताए। उनले शुद्धोधनवासी र पालिकाका कर्मचारीहरूलाई निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराउने गरि सम्झौता लागू गरिएको जनाएका छन्।
यो सेवा माघ १३ गतेबाट लागू भइसकेको छ। सम्झौताको अवसरमा शुद्धोधन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख असफक अहमद खाँ लगायत अन्य अधिकारीहरू र रक्त सञ्चार सेवा केन्द्र बुटवलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।