
प्रभुनाथ गुप्ता , कपिलवस्तु , असार ६ ,
जिल्लाको शुद्धोधन गाउँपालिकाको कार्यालयमा बिहिवार सुरक्षाको माग गर्दै कर्मचारीहरुले पेन डाउन गर्दै बिरोध गर्ने प्रेस बिज्ञप्ति मार्फत जनाएका छन् ।
शुद्धोधन गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत कर्मचारीहरूमाथि विगत केही समयदेखि उपभोक्ता समिति तथा जनप्रतिनिधिहरुबाट निर्माण व्यवसायीको पक्षपोषण गरि डर , धम्की तथा गालिगलौज गरि नभएको कामको बिल उठाउन दबाब दिने कार्य भएको र सो कारणले कर्मचारीहरूको मनोबल घटेको र काम गर्ने वातावरणमा असर पर्न गएको हुँदा उक्त कार्यको घोर बिरोध तथा निन्दा गर्दै कर्मचारीहरुले बिहिवार पेन डाउन गर्दै बिरोध गर्ने बिज्ञप्तिमा उल्लेख छ ।

बिहीबार ७ गतेका दिन उक्त शाखामा पेन डाउन गरि सम्पूर्ण कामकाज बन्द गर्दै , सम्पूर्ण सम्बन्धित व्यक्तिहरुलाई सुरक्षितरुपमा काम गर्ने वातावरण बनाउन अनुरोध समेत गर्ने बिज्ञप्तिमा उल्लेख छ । पेन डाउनका कारण सेवाग्राहीमा पर्न जाने असुविधा प्रति बिज्ञप्तिमा क्षमायाचना समेत गरिएको छ ।
