संकटमा पुराना दल, नयाँमा आकर्षण

संकटमा पुराना दल, नयाँमा आकर्षण

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि कुनै पनि सरकारले पाँच वर्ष पूरा कार्यकाल सम्हाल्न पाएका छैनन् ।

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्दा सरकार अस्थिर बन्दै गयो । स्थिरता नारा गराउँदै एक भएर निर्वाचनमा गएका तत्कालिन नेकपा बहुमत पाएर पनि छोटो समयमै छिन्नभिन्न भयो ।

अन्ततः अस्थिरताको कारक पुराना दल भन्दै गएको निर्वाचनमा स्वतन्त्र युवा तथा नयाँ दलप्रति आकर्षण देखियो । पुराना दलहरुप्रति नयाँ पुस्ताको विकर्षणले ठूला दलका नेताहरुलाई चिन्तित बनाएको छ ।

कुनै पनि दलले बहुमत नल्याएकै कारण स्थिर सरकार नहुँदा मुलुक समृद्धिको बाटोमा अघि बढ्न नसकेको भन्दै तत्कालिन नेकपा २०७४ को निर्वाचनमा जनताको बीचमा पुगेको थियो ।

दश वर्ष सशस्त्र संघर्षबाट आएको माओवादी र संसदीय अभ्यास गर्दै आएको एमालेबीच एकता भई बनेको तत्कालिन नेकपाले बहुमत पनि पायो । तर पार्टी एकता लामो समय टिक्न सकेन । छोटो समयमै पार्टी छिन्नभिन्न हुँदा सरकार बनाउने र ढलाउने खेल फेरि शुरु भयो ।

त्यसैले राजनीतिक दलका नेताहरुको प्रवृत्तिबाट वाक्क बनेका नयाँ पुस्ताले गएका निर्वाचनमा मत बदल्ने सोंच बनाए । त्यस्ता नेताहरुलाई भोट नदिन भन्दै विदेशमा श्रम बेचिरहेका लाखौं युवाहरुले आफ्नो घर परिवारका सदस्यलाई उर्दी जारी गरे ।

सामाजिक सञ्जालहरुमा ‘नो नट अगेन’ जस्ता अभियान नै चलाइयो । त्यसैले निर्वाचनमा नयाँ दलहरुले अप्रत्याशित मत प्राप्त गरेका थिए ।

पुराना दलहरुप्रति युवाहरुको असन्तुष्टि झनै बढ्दो क्रममा देखिएपछि नेताहरु चिन्तित देखिन थालेका छन् ।

सामाजिक सञ्जालहरुमा नेताहरुप्रतिको रोष थामि नसक्नुको छ । तत्कालै प्रतिक्रिया जनाउने र आलोचना गर्नेको मास उस्तै छ । यस्तो अवस्थाबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मात्र होइन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चिन्तित देखिन्छन् ।

राजनीति पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने उल्लेख गर्दै ओलीले विचार बिनाका पार्टीको लहर चलेको तर्क गरे ।

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली मात्र होइन, संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसका नेताहरुले पनि आफूहरुले गरेको त्यागलाई नबिर्सिन अपिल गर्ने गरेका छन् ।

आफूहरुले गरेको योगदान र ब्यवस्था परिवर्तका लागि विगतमा गरिएका ठूला संघर्ष र परिवर्तनको आत्मसाथ गर्न गर्नुपर्नेमा उनीहरुको जोड रहँदै आएको छ ।

नेपालमा सात सालदेखि दश वर्षे सशस्त्र संघर्ष हुँदै ६२\६३ जनआन्दोलन भए । जसले राजतन्त्रकै समुल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ।

परिवर्तनका लागि भएका पूर्वजका योगदानको कदर गर्नैपर्छ तर विगतको संघर्ष र इतिहासको ब्याज सधैं खाने अनि देशलाई असफल राष्ट्र बनाउने नेताहरुलाई नागरिकले सधैं सधैं साथ दिइरहन्छन् भन्ने हुँदैन । त्यसैले नेताहरुले पनि मुलुकको समृद्धिका लागि गम्भीर ढंगले सोंच्न जरुरी छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *