
काठमाडौं । जनताको बहुदलीय जनवाद एमालेको मार्ग निर्देशक सिद्धान्त र राजनीतिक कार्यक्रम हो । माक्र्सवाद लेनिनवादलाई पथप्रदर्शक सिद्धान्त ठान्ने एमाले मदन भण्डारीको जबजलाई मूल मन्त्र ठान्छ ।
यहि स्कुलिङबाट आएका माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टी पनि अन्ततः जबजमै रुमलिएको छ । राजनीतिक कार्यदिशामा अलमलिएको नेकपा एस किन जबजमै फर्कियो त ?
एमाले प्रतिगमनको मतियार र निरङ्कुश बनेको आरोपसहित नयाँ पार्टी गठन गरेका माधव नेपाल राजनीतिक शक्ति क्षयीकरणको चरम बिन्दुमा छन् ।
पार्टी विभाजनका बेला अग्रपंक्तिमा रहेकी पार्टी सचिव रामकुमारी झाँक्री हुन् वा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार राई नै किन नहुन्, नेकपा एसमा असन्तुष्टी चर्को छ ।
रामकुमारी चुनावपछि निष्क्रिय प्रायः देखिन्छिन् । पार्टीको चर्को आलोचना गरिरहेको भेटिने उनी जस्तै राई पनि मौन विद्रोहमा छन् ।
यो असन्तुष्टी सामान्य छैन । नेकपा एसका शीर्ष नेतादेखि सिंगो कमिटी नै एमाले प्रवेशको लहर चलेको छ । पार्टीमा एकपछि अर्को गर्दै नेताहरु एमाले जान थालेपछि त्रसित बनेका माधव नेपाल तनावमा छन् ।
एमाले निर्माणमा प्रमुख भूमिका खेल्ने माधव–झलनाथ बीच पनि मिलाप देखिन्न । अझं, जनताको बहुदलीय जनवादको च्याप्टर नै क्लोज भयो भन्ने घनश्याम भुसाल पार्टी महासचिव छन् ।
वैचारिक रुपमा प्रखर मानिने भुसालले एमालेको महाधिवेशनको ताका तीन बुँदे फरक मत नै राखे । जबजको च्याप्टर क्लोज भएको भन्दै व्याख्याको आवश्यकता औंल्याएका भुसाल अहिले पनि अध्ययनमै छन् ।
महासचिव भुसालले जबजमाथि प्रश्न उठाइरहेका बेला अध्यक्ष माधव नेपालले भने जबजबारे दायाँबायाँ हुनसक्ने गरी राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
जवजले समाजवादी क्रान्तिको बाटो तय गर्न नसक्ने दाबी गरेका नेपालले नेपालको कम्युनिष्ट पार्टीको रुपान्त्रण, माक्र्सवाद लेनिनवादको उच्चतम् प्रयोगमा भने ठूलो योगदान गरेको उल्लेख गरिएको छ ।
भुसालमात्रै नभएर नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पनि जबजबाट समाजवादी क्रान्ति संभव नभएको दाबी गर्दै आएका छन् । तर, नेकपा एसमा जबज छाड्दा शक्ति क्षयीकरणको डर उत्तिकै देखिन्छ ।
यसलाई हेर्न वामदेव गौतमको भनाई हेर्नु उपर्युक्त हुने देखिन्छ । नेकपा एकता अभियान भन्दै मझधारको राजनीति गर्ने दाबीसहित हिडेका बामदेवले नेकपा एसले निःशर्त जबज माने आफू त्यहाँ जाने बताएका थिए ।
हुनत उनी कहिले एमाले जाने त कहिले नेकपा एसमा जाने कुरा गरिरहन्छन् । निश्चित बाटो तय गर्न नसकेका बामदेवले जबजलाई मुख्य सिद्धान्त मान्न खोजिरहेको घटनालाई हेर्दा पनि नेकपा एसबाट फर्किने अधिकांश नेताहरुले जबजमा फर्किएको दाबी गर्ने गरेका छन् ।
नेता नेपालले आखिर समाजवादको यात्रा तय गर्न जबज होइन नयाँ राजनीतिक बाटो तय गर्नुपर्छ भनेर भन्न सकेनन् ?
यसको पछाडि लुकेको कारण भनेकै शक्ति क्षयीकरण नै भएको विश्लेषकहरुले बताउने गरेका छन् । जबजको मार्गमा नेकपा एस फर्किए पार्टी फुटको औचित्यमाथि नै गम्भीर प्रश्न समेत उठ्ने खतरा उत्तिकै छ ।
क्रान्तिकारी पार्टी निर्माणको दाबी गरिरहेका माधवलाई पार्टीमा नेता कार्यकर्तामा भइरहेको पलायनले चिन्ता मात्रै बढाएको छैन्, उनी जबज छाड्दा यस्तो भएको पो होकि भन्ने मनस्थितिमा पुगेको देखिन्छन् । यद्यपी नेकपा एसले कस्तो राजनीतिक प्रतिवेदन पारित गरेर अघि बढ्छ भन्ने विषयले यसबारे धेरै कुरा निक्र्योल गर्नेछ ।