
- सितल रिजाल
काठमाडौं । कांग्रेस भित्रको आन्तरिक किचलो र त्रिशंकु संसदका कारण सत्ता संकट देखेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ कमजोर अंकगणितलाई बलियो पार्न समाजवादी मोर्चा निर्माणमा अग्रसर बने ।
समाजवादी मोर्चाको घोषणा तय भएपछि देखिएका अनेक आशंका र प्रचण्डको लालसा कांग्रेसभित्रको द्वन्द्ध र अन्य राजनीतिक दाउपेचले कति सम्भव होला ?
सत्तामा कांग्रेसकै भरोसामा अडिएका प्रचण्डले गठबन्धन भित्रै अर्को गठबन्धन निर्माण गर्ने भएपछि राजनीतिक बृत भने तरङ्गित बनेको छ ।
नेपालीमा एउटा भनाइ छ । जग बलियो भए पो घर बलियो हुन्छ । हो त्यस्तै भएको छ पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पनि ।
संसदमा ३२ सिटको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड जसोतसो गठबन्धन दलहरुको भ¥याङ चढेरै भएपनि सत्तामा त पुगे । तर, उनको प्रधानमन्त्री यात्रा कति दिनको हो, त्यसको हिसाव किताव प्रचण्ड आफैसँग पनि छैन् ।
सत्ताको प्रमुख घटक कांग्रेसमात्रै चिढिएको खण्डमा पनि प्रचण्डले प्रधानमन्त्रीबाट हात धुनुपर्ने स्थिती छ । यहि तथ्य बुझेका प्रचण्ड पछिल्लो समय अनेकन तिकडम गरेरै भएपनि आफ्नो सरकारको आयु लम्बाउन चाहन्छन् । सरकारका पछिल्ला गतिविधिहरुबाट सत्ता साझेदार दलहरु चिढिन थालेपछि उनले फेरी समाजवादी मोर्चाको डम्फु बजाउन सुरु गरेका छन् ।
भविष्यमा पार्टी एकताको उद्देश्यसहित संसदवादी दलहरु माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र संसदीय व्यवस्थालाई इन्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहितका दलहरुले सोमबार मोर्चा घोषणा गर्ने भएका छन् ।
मोर्चा घोषणा भएसंगै प्रचण्डको पकडमा संसदमा ५४ सांसद रहनेछन् । उक्त संख्या सरकार टिकाउन प्रर्याप्त नभएपनि प्रचण्डका लागि कांग्रेसलाई तर्साउने र एमालेसँग बार्गेनिङ गर्ने बलियो हतियार बन्नेछ ।
यता, विचार मिल्ने बामपन्थी शक्तिहरुको मोर्चा घोषणा हुँदै गर्दा ठूलो वामपन्थी शक्ति एमाले भने त्यसमा अटाएन ।
यसरी आफ्नो दललाई उपेक्षा गरेर मोर्चा मार्फत प्रचण्डले शक्ति आर्जनको बाटो रोजेपछि एमाले अध्यक्ष केपी आलीलाई उक्त बिषय सह्य हुन सकिरहेको छैन् ।
मोर्चा घोषणाको बिषयले आक्रोशित बनेका ओलीले त्यस्ता स्वार्थ प्रेरित मोर्चालाई वास्ता गर्नुको कुनै तुक नभएको तर्क गर्छन ।
ओलीले मोर्चाको कुनै औचित्य नभएको बताइरहँदा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगाएतका नेताहरुले भने विचार मिल्नेहरुको गठबन्धनलाई अन्यथा लिन नहुने बताउँछन् ।
विगतमा नेपालका वामपन्थी शक्तिहरुको एकता लामो समय टिक्न नसकेका थुप्रै दृष्टान्तहरु छन् । यसपटक एकता नै नभएपनि वामपन्थी विचारधारका दलहरुको मोर्चा कति दिगो हुन्छ ?
वामपन्थी शक्तिको टुटफुटको इतिहास बुझेका नेपाली जनताले समाजवादी मोर्चालाई के आधारमा विश्वास गर्ने ? यसको आधार भने दलहरुले दिनै पर्नेछ ।