
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसदले तीन तहको सरकारलाई सुचारु रुपमा सञ्चालन गराउनका लागि आवश्यक संघीय कानूनहरु बनाउन नसकेको बताएक छन् ।
आईतवार नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संघले आवश्यक कानूनहरु निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाहीहरु अघि बढाउन सक्ने उल्लेख उनले भने ।
उनले पछिल्लो सयम युवाहरु देश छोडेर पलायन भइरहेको बारे चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए ।
उनले सरकार र सबै राजनीतिक दलहरुले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बताए । ‘सरकारलाई सुचारु रुपमा सञ्चालन गर्न आवश्यक संघीय कानूनहरु जुन अभावको कारणले फुल फ्लेजिट रुपमा काम गर्न पाइरहेको छैन । त्यो गराउन हामीले संघीय विधेयक ल्याउनुपर्छ, ऐन बनाउनुपर्छ, शिक्षा ऐन बनाउनुपर्छ । तमाम यस्ता संघीय कानून बनाइसकेपछि प्रान्तिय कानून र स्थानीय सरकारले पनि आफ्ना कानून बनाउन बाटो सुचारु रुपले जाने हुन्छ ,’ उनले भने, ‘लाखौंलाख संख्यामा युवाहरु कामको खोजिमा विदेशिएका छन् । अहिले त यहाँ व्यवसाय गरेर खाइरहेका पनि विदेश जाँदैछन् । अहिले सरकारले सबै दलले ध्यान दिएर देशमै बसेर गरिखाने वातावरण नीति बनाइदिनुपर्छ । सबैलाई यहीँ काम गर्ने वातावरण बनाउनुपर्छ । कानूनको राज हुनुपर्छ ।’
कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे नेता सिंहले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश भएको उल्लेख गर्दै सबैले बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश मानिसकेपछि कानूनभित्र बसेर सबैले काम गर्नुपर्ने बताए ।
उनले एकअर्काबीच हुने मनमुटावलाई सरकारले समाधान गरेर अघि बढ्नुपर्ने बताए ।
‘संविधान बनाउँदा नै हामीले भनेका छौँ । यो बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश हो भनेर मानेका छौँ । त्यो मानिसकेपछि कानूनभित्र बसेर काम गर्नुपर्छ, त्यो बिथोलिए सरकारले समाधान गर्नुपर्छ । धर्मलाई राजनीतिसँग जोड्नु हुँदैन,’ उनले थपे, काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ, देशको धर्म हुँदैन तर व्यक्तिको आस्थाअनुसार हुन्छ । नेपाल सबैका लागि हो, सबै सहअस्तित्वमा सद्भाव गरेर अर्को धर्मलाई आँच नआउने गरी काम गर्नुपर्छ । सामाजिक सद्भावलाई खलबल गर्नु हुँदैन ।’
नेता सिंहले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडिकन सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए।