
काठमाडौँ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बिहान साढे ११ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सुरू हुनेछ ।
राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्, राष्ट्रपति, उपराष्ट्रपति, रक्षा, गृह, कृषि तथा पशुपंक्षी,कानून, न्याय तथा संसदीय मामिला, शिक्षा, विज्ञान तथ प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, अर्थ, खानेपानी, उर्जा, जलश्रोत तथा सिंचाई, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका बजेटमाथि छलफल हुने कार्यसूची छ ।
प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयतार्थ प्रश्तुत गर्ने कार्यसूची छ । यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने लगायत कार्यसूची रहेका छन् ।
तर केही दिनदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदका दुवै सदनमा अवरोध गर्दै आइरहेको छ । उसले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान कायमै राखेकाले आज पनि संसद अवरुद्ध हुनसक्ने देखिन्छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकार र प्रतिपक्षले छलफल गरेर संसदकाे अवराेध हटाउनुपर्ने भन्दै मध्यस्थता समेत गरिरहेका छन् ।