
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मतदान गर्न संविधानले दिएको अधिकारलाई कसैले पनि खोस्न नहुने बताएका छन् ।
कोशी प्रदेशसभामा आज विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रदेश सरकारले संविधान एवं विधानसम्मत नै विश्वासको मत प्राप्त गरेको प्रतिक्रिया दिए।
मुख्यमन्त्री थापाले आजको बैठकले प्रदेशसभाको औचित्य सावित गरेको भन्दै सभाअध्यक्षको भूमिका निर्वाह गर्नुभएका इस्राइल मन्सुरीले संवैधानिक अधिकार प्रयोग गरी विश्वासको मतको पक्षमा मतदान गरेको जिकिर गरे।
उपसभामुख सिर्जना दनुवारले तोकेको व्यक्तिबाट सभा सञ्चालन गर्नुपर्ने स्थिति सिर्जना हुनु प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को साजिश भएको टिप्पणी गरे। उनले यो सरकार विश्वासको मत लिइसकेपछि पूर्ण स्वरुपमा तीव्र गतिमा काम गर्ने दाबी गरे।