
काठमाडौं । पाँच वर्षअघि बेलायतको तल्लो सदनमा ब्रेक्जिट सम्बन्धमा बहस चलिरहँदा सदन बाहिर अर्धनग्न प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले सदन अवरुद्ध गर्ने प्रयास समेत गरेका थिए । यस्ता प्रदर्शनहरु अन्य देशहरुमा पनि बेलाबेलामा हुने गरेका छन् । नेपालमा पनि बेला बेलामा अर्धनग्न प्रदर्शनहरु नभएका होइनन्, सोमवार पहिलो पटक संघीय संसदमा नै एक सांसद अर्धनग्न भई प्रस्तुत भए ।
देशको कानून निर्माण गर्ने ब्यक्ति नै कानून निर्माण गर्ने थलोमा यसरी प्रस्तुत हुँदा के हुन्छ त कारबाही ? आजभन्दा पाँच वर्षअघि बेलायतको हाउस अफ कमन अर्थात तल्लो सदन चन्दै गर्दा प्रदर्शनकारीहरुले अर्धनग्न प्रदर्शन गर्दै संसद अवरोध गर्ने प्रयास गरेका थिए । ‘एक्जिस्टेन्सियल रिवेलियन’ नामक समूहका ११ अभियानकर्मीहरुले उक्त विरोध प्रदर्शन गरेका थिए ।
अन्य देशहरुमा मात्र होइन, नेपालमा पनि बेलाबेलामा अर्धनग्न भई विरोध प्रदर्शन हुने गरेका छन् । आफ्नो अधिकारको माग गर्दै वादी समुदायका महिलाहरुले पनि केही वर्षअघि देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि पेटिकोट लगाएर प्रदर्शन गरेका थिए । पाँच वर्षअघि राष्ट्रिय जनावर बदल्नुपर्ने माग गर्दै एक लिम्बु युवाले सिंहदरबार अगाडि नग्न भए विरोध प्रदर्शन गरेका थिए ।
विभिन्न मागहरु राखेका विभिन्न शैलीमा विरोध प्रदर्शनहरु हुने कुरा नौलो होइन । तर संघीय संसदमा नै सोमवार स्वतन्त्र सांसद अमरेशकुमार सिंह अर्धनग्न भएर विरोध जनाए । आइतबारदेखि शुरु भएको बजेट अधिवेशनमा प्रि–बजेटबारे छलफल हुने कार्यक्रम हुँदै गर्दा आफूले संसदमा विशेष समयमा बोल्न नपाएको भन्दै सांसद सिंहले संसद बैठकमै आफूले लगाएको कपडा फुकाले । आफूले बोल्न नपाएको आवेगमा आफूले लगाएको कपडा खोलेर अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले अश्लिल र अभद्र ब्यवहार नगर्न चेतावनी दिएका थिए । नेपालको कानूनअनुसार कुनै पनि सार्वजनिक स्थलमा पूर्ण रुपमा नग्न प्रदर्शन गर्न पाइदैन । अपराध संहिता ऐनअनुसार सार्वजनिक स्थलमा गुप्ताङ देखाउने ब्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजारसम्म जरिवाना तिर्नुपर्छ ।
सदनभित्रै अभद्र ब्यवहार गर्ने सांसदलाई के कारबाही हुन्छ ?
– बैठकमा अभद्र ब्यवहार गर्ने सदस्यलाई आफ्नो ब्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने र चेतावनी पाएपछि सदस्यले आफ्नो ब्यवहार तुरुन्त नियन्त्रण गर्नुपर्ने
– सभामुखको चेतावनीपछि पनि व्यवहार नियन्त्रण नगरेमा उसलाई बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ । आदेशपछि तुरुन्त बाहिर जानुपर्ने र सो दिनको बैठकमा सहभागी हुन नपाउने
– त्यसरी आदेश पालना नगरेमा सभामुखले त्यस्ता सदस्यलाई मर्यादापालक लगाएर बाहिर पठाउन सक्ने
– त्यसरी निश्कासित सदस्यले त्यसपछिका तीन दिनसम्म सभा वा समितिको कुनै पनि बैठकमा भाग लिन नपाउने
सोमवार संसद बैठकमा अभद्र ब्यवहार देखाएका सांसद अमरेशकुमार सिंह सभामुखको चेतावनीपछि आफूले उतारेका कपडाहरु लगाएर बैठकस्थलबाट बाहिरिएका थिए ।