संसदमा जुहारी : प्रधानमन्त्रीविरुद्ध खनिए एमाले र रास्वपाका सांसद

संसदमा जुहारी : प्रधानमन्त्रीविरुद्ध खनिए एमाले र रास्वपाका सांसद

काठमाडौँ । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किदा भैँसी चढेर आएको भनेपछि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रचण्ड भारत भ्रमणबाट फर्किदा पोखरा विमानस्थलमा आउनु अपेक्षा गरेपनि भैसी चढेर आएको भन्दै गैरसंसदीय शब्दको प्रयोग गरेका थिए । खनालले यस्तो शब्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउदै संसदको रेकर्डबाट यो शब्द हटाउन माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले संसदको रकर्डबाट भैसी चढेर भन्ने शब्द हटाउन निर्देशन दिएका छन् । सभामुखले यस्तो निर्देशन दिएपछि केहिबेर सांसदहरुबीच फेरि चर्काचर्की भएको थियो ।

सीमा विवादमा बंगलादेश मोडेलको कुरा भएको छैन : प्रचण्ड

बंगलादेश मोडेलमा कालापानी लिम्पियाधुरा विवाद समाधान खोज्ने विषयमा समेत सोच्न सकिने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ विवादमा तानिएका छन् । बंगलादेश पहिले भारतकै भूमी भएको र विभाजनपछि बनेकाले उनीहरुले सीमा विवाद जसरी मिलाए त्यसरी नेपालले सम्झौता गर्न नसक्ने भन्दै यो विषयले संसद प्रवेश पाएको हो । यता, प्रचण्डले नेपाली भूमि सट्टापट्टा गर्ने विकल्प यो भनेर आफूले कुनै किसिमको प्रस्ताव नगरेको बताएका छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका भूमी नेपालको भएकाले आफ्नो भनाइको आशयलाई घुमाउने काम नगर्न सांसदलाई प्रचण्डले अपिल समेत गरेका छन् । नभएको हल्ला गरेकाले आफू चिन्तित र पीडित भएको प्रचण्डको भनाई छ । भारतीय प्रधानमन्त्री मोदीसँग सीमा विवाद हल गर्न खुलस्त कुरा भएको उनले बताए । हिमालको उचाइमा पुर्याइन्छ भनेर बोलेको पहिलो पटक हो । सुपरहिट सम्बन्ध भनेको पहिलो पटक हो प्रचण्डले भनेका छन् ।

मोदी सीमा विवाद समाधानबारे पहिलो पटक बोले : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबाट देशका लागि दीर्घकालीन हितमा काम भएको बताएका छन् । संसदमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट आर्थिक र राजीनितक हिसाबमा राष्ट्रको दीर्घकालीन हित भएको बताए । व्यापार, पारवाहन, सिँचाइ, विद्युत, रेलवे र पूर्वाधारको विषयमा अर्थपूर्ण छलफल भएको उनले सदनलाई जानकारी गराएका हुन् । हवाई प्रवेशको मार्गमा पनि छलफल भएको उनले बताए । नेपालको उर्जा बंगलादेशसँग पु¥याउन त्रिदेशीय सम्झौता हुने उनले बताए । पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमाको विषय समाधान गर्ने कुरा उठाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । संयुक्त पत्रकार सम्मेलनको क्रममा प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे बोलेका छन् । मोदीले सीमा विवादलाई समाधान गरिने विषय पहिलो पटक बोलेका हुन् ।

संसदमा हंगामा, प्रचण्डले दिए यस्तो जवाफ

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसदमा सांसदहरुको उत्तर दिने क्रममा प्रतिपक्षी दलहरुले होहल्ला गरेका छन् । संसदमा उनीहरुले नियमापत्ति भन्दा पनि क्रोध व्यक्त गर्ने र कुण्ठा पोख्ने काम गरेपछि संसद केहिबेर गञ्जागोल अवस्थामा पुगेको हो । नागरिकता विधेयक प्रमाणीकरणको विषय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दराजमा थन्क्याएको अवस्थामा रहेको अवस्थामा पाइएको प्रचण्डको भनाई छ । सार्वभौम संसदले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेर संसदको अपमान गरेको उनको भनाई थियो । नागरिकता विधेयकमा सर्वोच्च अदालतले अन्तरिम अल्पकालीन आदेश जारी गरेको अवस्थामा संसदमा यसबारे व्याख्या भएको भन्दै सांसदहरुले कुरा उठाएपनि उनीहरुले नै प्रश्न तेर्स्याएका थिए । सदनले पारित गरेको विषय सरकारले फेरि सिफारिस गर्ने वा प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने हैसियत नभएकाले सिफारिस नभई अनुरोध गरेको प्रचण्डको भनाई छ । राष्ट्रपति कार्यालयमा विधेयक होल्डमा रहेका कारण पनि प्रमाणीकरण सामान्य बिषय रहेको उनको तर्क छ ।

विदेशी महिलालाई नागरिकतामा समयसीमा राख्ने पक्षमा छु : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपालमा विवाह गरेर आउने महिलालाई नागरिकता दिने प्रकरणमा समयसीमा राख्न आफू सहमत रहेको जिकिर गरेका छन् । प्रचण्डले संसदमा बोल्दै आगामी दिनमा यस्तो समयसीमा राख्ने विषयमा सहमति जुटाउनुपर्ने दाबी गरेका छन् । नागरिकता विधेयकका विषयमा प्रमुख प्रतिपक्षी दलका सांसद योगेश भट्टराईले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले आफू सीमा राख्न तयार रहेको बताए । ’हामी अहिले पनि नेपालमा विवाह गरेर आउने महिलाको हकमा केही क्राइटेरिया राख्नुपर्छ भन्नेमा नै छौं । हामी अहिले पनि त्यहिँ छौं,’ प्रचण्डले भनेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले समय सीमा राख्ने विषय संसद्मा नै भनेपछि विधेयक प्रस्तुत भएको प्रचण्डले बताए । त्यतिबेला जन्मसिद्ध आमाबाबुका सन्तानहरू नागरिकता नपाएर प्रताडित भएकाले समस्या समाधान गर्न विधेयक ल्याइएको र नेपालमा विवाह गरेर आउने महिलालाई सीमा राख्ने विषय थाती रहेको बताए ।

भारतीय संसदमा रहेको नक्साबारे कुरा राखेको छु : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँको नयाँ संसद् अघि राखिएको नक्साबारे आफूले कुरा उठाएको बताएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नक्साअघि गएर हात हल्लाएको कुरा गलत भएको बताएका हुन् । उनले त्यो नक्साबारे भारतको आफ्नै तर्क रहेको सुनाए । ’यो विषयमा भारतमा कुरा गरेन भन्ने पनि सत्य होइन । मैले कुरा गरेँ । उहाँहरूको आफ्नो तर्क छ । यो सांस्कृतिक ऐतिहासिक हो भन्ने । यो बारेमा छलफल गर्दै जान सकिन्छ,’प्रचण्डले भनेका छन् । प्रचण्डले विश्वासको वातावरण बनेपछि छलफल गरेर जान सकिने बताए । अहिले आफूलाई अफ्ठ्योरोमा पार्दा फाइदा हुन्छ भन्ने नसोच्न उनको आग्रह छ ।

भारत भ्रमणमा छोरीलाई किन साथमा राखेको भन्दै जंगिए ओली

भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो छेउमा छोरी राखेको विषयमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन् । परराष्ट्र प्रोटोकल मिचिएको भन्दै ओलीले परराष्ट्रमन्त्रीदेखि सरकारी अधिकारी हुनुपर्नेमा छोरी राखेको भन्दै गुनासो पोखेका हुन् । प्रचण्डले विदेश सम्बन्धहरु ध्वस्त पारेको दाबी गरेका ओलीले परिवारका सदस्यलाई फर्स्ट लेडीको रुपमा लिन नसकिने बताए । प्रचण्डको भारत भ्रमण पारिवारिक भ्रमण जस्तो भएको आरोप लगाएका छन् । प्रचण्डको भारत भ्रमणको क्रममा स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाल देखिएकी थिइन् । भारतले पनि परिवारका सदस्य भएकाले उनलाई त्यहाँ राखेको उनको तर्क थियो । भारत छिमेकी भएकाले पनि आफ्ना कुरा प्रष्ट राख्नुपर्ने ओलीको जिकिर छ । ओलीले संसदमा आक्रामक रुपमा प्रचण्डको भारत भ्रमणलाई पारिवारिक बन्न पुगेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

माओवादी युद्धबारे एमाले सांसदको गम्भीर प्रश्न

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धबारे गम्भीर आशंका व्यक्त गरेका छन् । सोमबार आफ्नो भारत भ्रमणबारे जानकारी गराउन संसदमा उपस्थित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई एमाले सांसद सूर्यप्रसाद ढकालले १० वर्षे सशस्त्र युद्धबारे प्रश्न गरेका हुन् । उनले २८ वर्षअघि ४० बुँदे माग राखेर तत्कालीन माओवादीले सुरू गरेको युद्ध भारतकै इशारामा भएको हो भनि प्रश्न गरेका छन् । तत्कालीन माओवादीले राखेका ४० बुँदामध्ये ९ बुँदे मागहरू भारतसँग रहेको स्मरण गराउँदै उनले ती मागहरू अहिलको भारत भ्रमणमा नराख्नुको कारण सोधेका छन् । अर्का सांसद नारायणप्रसाद आचार्यले पनि जनयुद्धका बेलामा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका विरूद्ध बंकर र सुरूङ युद्ध लडिएको तर अहिले त्यही भारतसामू प्रधानमन्त्री प्रचण्ड लम्पसार परेको आरोप लगाएका छन् ।

दुरुपयोग नभई शिक्षा दिन सक्रिय थिएँ : मदन राई

बाल यौन दुरुपयोगको कसुरमा मदन राईविरुद्ध जिल्ला अदालत खोटाङमा बयान सुरु भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेसँगै सोमबार अदालतमा बयान गराउन थालिएको हो । बयान सकिएपछि उनीविरुद्ध थुनछेक बहस हुनेछ। थुनछेक बहससँगै राईलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने टुंगो लाग्ने छ । राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको हो । राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन । राईले बयानका क्रममा आफूले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका छन्। तर यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उदेश्यले त्यस्ता गतिविधि गरेको उनको बयान छ ।

मधेसमा जलाइयो रविको पुत्ला

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले रोक लगाएको विरोधमा मधेसमा विरोध प्रदर्शन भएको छ । सर्वोच्चको निर्णयविरुद्ध जनकपुरधामसहित तराई मधेशभरि विरोध प्रदर्शन गरिएको छ । नागरिकता विहीन संघर्ष समिति नेपालले सर्वोच्चको निर्णयविरुद्ध आइतबार साँझ जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको थियो भने सोमबार विहानैदेखि जिल्ला प्रशासन घेराउ गरेका छन् । संघर्ष समितिका राष्ट्रिय अध्यक्ष इन्जिनियर इन्द्रजीत साफीको नेतृत्वमा पुगेको नागरिकताविहीन युवाहरुको एक समूहले सर्वोच्च अदालतको निर्णयविरुद्ध नारावाजी गर्दै टायर बालेर विरोध प्रदर्शन गरे । अध्यक्ष साफीले सोमबार बिहान ९ बजेदेखि मेचीदेखि महाकालीसम्म देशैभरका जिल्ला प्रशासन कार्यालय बन्द गर्ने चेतावनी दिएका थिए । सोहि क्रममा समितिले धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कार्यालयभित्र प्रवेश गर्न अवरोध गरेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रहरीले गरेको लाठीचार्जबाट दर्जनभन्दा बढि आन्दोलनकारीहरु घाइते भएका छन् । यसैगरि, वीरगञ्जमा रास्वपा सभापति रवि लामिछानेको पुत्ला दहन गरिएको छ । नागरिकताविहीनलाई नागरिकता दिन राज्यले प्रयास गर्दा रास्वपाले विरोध गरेको भन्दै रविविरुद्ध नारावाजीसहित पुत्ला दहन गरिएको हो । रविले मधेसलाई उपेक्षा गरेको, मधेसका समस्यालाई समाधान गर्न नचाहेको भन्दै रवि र एमाले अध्यक्ष केपी ओलीविरुद्ध प्रदर्शनकारीहरु आक्रोशित थिए ।

सरकारलाई निर्वाचन आयोगले गरायो ध्यानाकर्षण

निर्वाचन आयोगले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा ध्यानाकर्षण गराएको छ । सोमवार उपप्रधानमन्त्री श्रेष्ठलाई कान्तिपथस्थित आयोगको कार्यालयमा आमन्त्रण गरेर सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा ध्यानाकर्षण गराएको हो । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्यमा खर्च कटौति गरी मितव्ययिता अपनाउने भन्दै जिल्ला निर्वाचन कार्यालयलाई खोरज गरी जिल्ला प्रशासनको इकाई राख्ने व्यवस्था गरेको छ । तर, सरकारले निर्वाचन आयोगसँग कुनैपनि छलफल र परामर्श बिना जिल्ला कार्यालयहरु खारेज गरेकोमा आपत्ति रहेको आयोगको भनाई छ । उपप्रधानमन्त्रीले प्रधानमन्त्री र अर्थमन्त्रीसँग थप छलफल गरेर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेको आयोगको दाबी छ । उनले निर्वाचनका लागि मतदाता नामावली संकलन गर्ने जिम्मेवारी आयोगलाई भएको भन्दै निर्वाचनको स्वच्छता स्वतन्त्रता र निपक्षता मतदाता नामावलीसँगै देखि शुरु हुने बताए । उनले सरकारको बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्दा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निपक्षता प्रश्न उठ्ने सम्भावना रहेको बताएका छन् । ७७ जिल्ला निर्वाचन कार्यालयमा जम्मा ३० करोड हाराहारी खर्च हुने आयोगले बताएको छ ।

इब्राहिमोभिचले लिए फुटबलबाट सन्यास

एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ४१ वर्षीय स्विडिस इब्राहिमोभिचले सिरी ए को अन्तिम खेलपछि सन्यास घोषणा गरेका हुन् । पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र दुवै मिलान क्लबबाट खेलेका उनले क्लब फुटबलमा ५११ गोल गरेका थिए । उनले नेरदल्याण्ड्स, इटली, स्पेन र फ्रान्स गरी चार देशहरूमा लिग उपाधि जितेका थिए । सन् २०११ मा एसी मिलानबाट सिरी ए उपाधि जितेको इब्राहिमोभिच २०२० मा फेरि मिलान पुगेका थिए । जहाँ उनले २०२१ मा मिलाननलाई लिग जिताउन सहयोग गरे । इब्राहिमोभिचले १४ लिग उपाधिसहित करियरमा कुल ३४ ट्रफीहरु जितेका छन् । उनी ११ पटक बालोन डी’ओरका लागि मनोनित भएका थिए । उनले क्लब फुटबलमा जित्न नसकेको मुख्य ट्रफी च्याम्पियन्स लिग रहन पुगेको छ । सन् २०१७ मा उनले म्यानचेष्टर युनाइटेडबाट युरोपा लिग उपाधि जितेका थिए । यस्तै, उनले स्वीडेनका लागि १२२ खेल खेल्दै सर्वाधिक ६२ गोल गरेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *