
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल-भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भिर ढंगले आग्रह गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औंपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । त्यस अवसरमा उनले दुई मुलुकबीचको सीमालगायतका थाती रहेका सबै समस्याहरुको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमासम्बन्धि हालसम्मकै स्पष्ट विचार राखेको पहिलोपटक भएको दाबी समेत गरे ।
प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेसमिटको अवसरमा दिएको सीमासम्बन्धि समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रुपमा लिएको पनि बताए । उनले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भीर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकीर समेत गरे ।
‘भेटवार्तामा सीमा सम्बन्धी विषयहरुमा गम्भीर रुपले छलफल भएको छ,’ उनले भने, ‘सीमा सम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भिर ढंगले आग्रह गरेको छु । यहाँहरुलाई थाहानै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँति रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धि विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’
प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भिर भएर लागिपर्ने बताएको पनि संसदलाई जानकारी गराए ।