सकियो खर्चको भुक्तानी गर्ने समय, बंगलादेशमा बिजुली बेचिँदै

सकियो खर्चको भुक्तानी गर्ने समय, बंगलादेशमा बिजुली बेचिँदै

सकियो खर्चको भुक्तानी गर्ने समय

चालु आर्थिक वर्षको लागि खर्चको भुक्तानी गर्नुपर्ने समय सकिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार शनिबार मात्रै प्रणालीबाट ९ अर्ब ७८ करोड ११ लाख रूपैयाँ भुक्तानी गरिएको छ । यो वर्ष चालु खर्च मात्रै १० खर्ब ६ अर्ब, पुँजीगत खर्च २ खर्ब ३२ अर्ब र वित्त व्यवस्थापन खर्च एक खर्ब ८९ अर्ब रूपैयाँ खर्च भएको छ । यो सँगै चालु वर्षको लागि नेपाल सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ । चालु वर्षको लागि विनियोजन गरिएको रकमको तुलनामा ७९ प्रतिशत खर्च भएको छ । चालु वर्षमा १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखिएको थियो ।

पेट्रोल घट्यो, डिजेल बढ्यो

भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमले प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ । अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ । पछिल्लो पटक गत १८ असारमा निगमले इन्धनको मूल्य समायोजन गरेको थियो । जसअनुसार पेट्रोलको मूल्य काठमाडौं उपत्यका क्षेत्रमा प्रतिलिटर १ सय ६७ रुपैयाँ ५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

खरिद-विक्री मूल्य तोक्न मात्र बाँकी

बंगलादेशले नेपालबाट लैजाने भनिएको ४० मेगावाट बिजुली सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । त्रिदेशीय सम्झौतामा तीनै देश (नेपाल–भारत–बंगलादेश) ले हस्ताक्षर गरेपछि नेपालदेखि बंगलादेश लैजाने ४० मेगावाट बिजुलीको बाटो खुलेको हो । सम्झौतामा मुख्य भूमिका रहेको भारतले सम्झौतामा हस्ताक्षर गरी बाटो खोलिदिएपछि त्रिदेशीय सम्झौता हस्ताक्षर भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरण–एनटीपीसी विद्युत् व्यापार निगम–बंगलादेश पावर डेभलपमेन्ट बोर्डले हस्ताक्षर गरेपछि सम्झौता अगाडि बढेको हो । योसँगै अब नेपाल र बंगलादेशको बैठकले ४० मेगावाटका लागि खरिद बिक्री मूल्य निर्धारण गर्नेछ । यो सम्झौता नेपाल सरकार र बंगलादेश सरकार (जीटूजी) बीच हुने भएकाले चाँडो दुवै देशका अधिकारी बसेर मूल्य निर्धारण गरिनेछ ।

स्ट्यान्डर्ड चार्टड बैंकको व्याजदर सबैभन्दा कम

स्ट्यान्डर्ड चार्टड बैंकले सबैभन्दा कम ब्याजदर सार्वजनिक गरेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टडले मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याजदर दिने भएको हो । बैंकले ९१ दिनको व्यक्तिगत मुद्दति निक्षेपमा ७.९५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । त्यस्तै १ सय २१ देखि ३ सय ६४ दिनसम्मको मुद्दति निक्षेपमा ८.९५ र १ वर्ष तथा त्योभन्दा माथिको मुद्दति निक्षेपमा पनि सर्तसहित ८.९५ प्रतिशत नै ब्याज दिने बैंकले जनाएको छ । स्ट्यान्डर्ड चार्टडले कम्तीमा १ वर्षको रेमिट्यान्स मुद्दति निक्षेपमा भने ९.९५ प्रतिशत ब्याज दिनेछ । साधारण बचतअन्तर्गतका १० प्रकारका खातामा बैंकले ४.८५ देखि ७.४५ प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले जेठदेखि कर्जाको आधार दर ९.१२ प्रतिशत कायम गरेको छ ।

फलामजन्य वस्तुको निर्यात हालसम्मकै उच्च

सरकारले स्टिलजन्य वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गरेपछि हालसम्मकै उच्च निकासी भएको छ । भन्सार विभागको तथ्यांकअनुसार सरकारले स्टिलजन्य वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गरेपछि चालु आर्थिक वर्षको ११ महिनामा हालसम्मकै उच्च निर्यात भएको हो । विभागको तथ्यांकअनुसार जेठसम्ममा ९ अर्ब ८९ करोड ९६ लाख रुपैयाँको ७ करोड ५६ लाख ९२ हजार केजी स्टिलजन्य वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले ३ अर्ब २९ करोड २८ लाख रुपैयाँको आइरन र स्टिलजन्य वस्तु निर्यात गरेको थियो । साथै, गत वर्ष नेपालबाट ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँको स्टिलजन्य वस्तु निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आथिक वर्षको सोही अवधिमा २००.६ प्रतिशतले बढी निर्यात बढेको हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *