
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारका कारण राजनीति विकृत हुँदै गएको बताएका छन् । पैसा बिना कामै नहुने अवस्था सिर्जना भएको भन्दै नेपालले राजनीतिमा सबैभन्दा चर्को भ्रष्टाचारको प्रवृत्ति बढेको उनले बताए ।
उनले राजनीति विकृत हुनुको पछाडी भ्रष्टाचारले काम गरेको दाबी गरेका नेपालले बिना पैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने र इमान्दार पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको समेत बताए ।
यस्तो भयावह अवस्थालाई परिवर्तन गर्नुपर्ने बेला आएको उनको भनाई छ । भूटानी शरणार्थी प्रकरणदेखि मिटरब्याजी समस्या यसैको प्रारुप रहेको माधवको दाबी छ ।
यस्तै, उनले अहिले प्रतिगामी शक्तिहरु सल्बलाएको भन्दै उनले वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
बजेट पास हुन दिन्नौं बरु सरकार छाड्न तयार : राजेन्द्र पाण्डे
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बजेट बिनियोजनमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र अर्थमन्त्रीका निर्वाचन जिल्लाहरुमा बजेट असमान ढंगले गएको भन्दै सरकार छाड्न परेपनि बजेट पारित हुन नदिने चेतावनी दिएको छ ।
नेकपा एसका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पारित हुन नदिने बरु त्यसको सट्टामा सरकार छाड्नुपरेपनि तयार रहेको दाबी गरेका हुन् ।
उनले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा बजेट पास हुन नदिने चेतावनी दिएका हुन् ।
पाण्डेले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०\७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतावनी दिए ।
उनले १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य नहुने उनको भनाइ थियो ।
समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्ने संकल्प पुरा हुन नसक्ने दाबी गरेका पाण्डेले भनेजस्तै माधव नेपालले समेत बजेटप्रति खरो टिप्पणी गर्दै आएका छन् ।
संसदमा रेकर्ड डिलिट गर्ने विषय प्रणाली जस्तै बन्नु दुखद्ः सांसद खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदलाई हल्का रुपमा लिने र छलफल हुनुपर्ने विषयहरु रेकर्डबाट हटाउने प्रणालीको विकास हुन थालेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीको विषय संसदको रेकर्डबाट हटाइएकोमा सांसद खतिवडाले आपत्ति जनाएका हुन् ।
खतिवडाले पशुपतिनाथ मन्दिरको जलहरीमा १० किलो ९७६ ग्राम सुन बेपत्ता भएको विषयमा छानबिन हुनुपर्ने बताएका छन् ।
यस्तै, उनले संसद्लाई हल्का रूपमा प्रस्तुत गरिएको बताउँदै संसद्मा छलफल हुने विषय रेकर्डबाट हटाउने परम्पराको अन्त्य गर्न पनि माग गरे ।
महालेखाको प्रतिवेदन संसदमा बोल्न दिएको भन्दै खतिवडाले बोलेको विषय रेकर्डबाट हटाउने हो भने आफू त्यसको विपक्षमा उत्रिने चेतावनी समेत दिए । यस्ता कुरा संसदको रेकर्डबाट ३\४ चोटी डिलिट भएपनि जनताको मनबाट डिलिट नहुने भन्दै उनले संसदमा छलफलका लागि माग समेत गरेका छन् ।
यसअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल ’राजन’ले जलहरीको विषय उठाएपछि एमालेले संसद अवरुद्ध गरेपछि यो विषय रेकर्डबाटै हटाइएको थियो ।
कोशीको नाम दुई तिहाईबाट फेर्न योगेशको चुनौति
नेकपा एमालेले कोशी प्रदेशको नाम दुई तिहाई बहुमत जुटाएर फेर्न चुनौति दिएको छ । कोशी प्रदेशको ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराईले प्रतिनिधिसभा बैठकमा कोशीको नाम दुई तिहाईबाट फेर्न चुनौति दिएका हुन् ।
योगेशले प्रदेशको नामाकरणमा एमालेलाई जबरजस्ती मुछ्न खोजिएको भन्दै एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगायतलाई एम्बुस थापेर मार्ने काम भयोको गम्भीर आरोप लगाएका छन् ।
शीर्ष नेताहरुमाथि आक्रमण प्रयास हुँदा सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका योगेशले सत्तापक्षले नै कोशीमा अराजकता सिर्जना गरेको आरोप समेत लगाएका छन् ।
कोशीको विषयमा चर्को अभिव्यक्ति दिएका योगेशले एमालेसँग भिड्न खोजेको भए जवाफ दिने भन्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिएका छन् । सरकारले सुरक्षा दिन नसक्ने हो भने एमालेले आफ्नो सुरक्षा आफै गर्न सक्ने दाबी समेत गरेका छन् ।
पहिचानवादीको आन्दोलनको क्रममा मारिएका पदमबहादुर लिम्बु पनि आन्दोलनकारीकै लठ्ठीबाट मृत्यु भएको दाबी गरेका छन् ।
शान्तिपूर्ण विरोध जनताको अधिकार हो, अराजकता सहन्नौं : नारायणकाजी
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकार भएपनि अराजक र हिंसात्मक गतिविधि गर्नेलाई राज्यले छुट दिन नसक्ने बताएका छन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा आफ्ना नेताहरुमाथि कोशीमा असुरक्षा भएको र सरकारले सुरक्षा दिन नसकेको आरोप लगाएपछि मन्त्री श्रेष्ठले शान्तिपूर्ण विरोध गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गरिएपनि अराजकता स्वीकार्य नहुने बताएका हुन् ।
कोशीमा पहिचानवादीको आन्दोलन र गतिविधिबारे एमाले र सभामुख देवराज घिमिरेले सरकारको ध्याणाकर्षण गराएपछि गृहमन्त्री श्रेष्ठले यस्तो बताए ।
अराजक गतिविधिमा संलग्नलाई कारबाहीका लागि सरकारले प्रहरीलाई निर्देशन दिइसकेको दाबी गरेका उनले सरकारले अराजक गतिविधिप्रति दुख व्यक्त गरेको जिकिर गरे ।
नेताहरुलाई प्रहरीको स्कर्टिङमा सुरक्षा दिइएको भन्दै उनले अराजकता निम्तिन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
‘नो भोट’ को व्यवस्था राख्न आयोगको प्रस्ताव
निर्वाचन आयोगले नयाँ निर्वाचन कानुनमा ’नो भोट’ को व्यवस्था राख्न प्रस्ताव गरेको छ । आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी तर्जुमा गर्न तयार गरेको विधेयकको मस्यौदामा ’नो भोट’ को व्यवस्था समावेश छ ।
आयोगले शुक्रबार राजनीतिक दलहरुसँगको छलफलमा नयाँ कानुनमा ’नो भोट’ को व्यवस्था गर्न लागिएको बारे परामर्श गरेको छ । त्यस क्रममा आयोगले निर्वाचनमा कुनै पनि उम्मेदवारप्रति समर्थन छैन भनेर मत जाहेर गर्न पाउने प्रावधान समावेश गरिएको जनाएको छ ।
सो मस्यौदा संसद्मा पेश गर्न लागेको भन्दै आयोगले त्यसमा कुनै पनि उम्मेदवारप्रति समर्थन छैन भनेर मत जाहेर गर्न पाउने प्रावधान समेत समेटेको छ ।
यस्तै मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको व्यवस्था मिलाउनेबारे समेत समावेश गरिएको आयोगले जनाएको छ ।
नागरिकता विधेयक : कागजात मगाउन सर्वोच्चको आदेश
अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको प्रतिलिपी मगाउन सर्वोच्चले आदेश दिएको हो । शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको प्रतिलिपी मगाउने आदेश दिएको हो ।
सर्वोच्चले राष्ट्रपतिबाट भएको प्रमाणीकरणको कपी मगाउने र अन्तरिम आदेश दिनु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि जेठ ३० गते मंगलबारको पेसी तोक्ने आदेश गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चले कार्यन्वयन नगर्न भन्दै रिट दर्ता गराएका थिए ।
नागरिकता ऐन कार्यान्वयन नहुँदा लाखौं नागरिकताविहीनहरुले आन्दोलन र विरोध गरिरहेका छन् ।
माओवादी नभई ओलीको सिंहदरबार यात्रा असम्भव : जनार्दन शर्मा
९. नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष केपी ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका छन् ।
शर्मा अर्थमन्त्री भएको बेला निर्माण भएको बजेटबारे गम्भीर प्रश्न गर्दै एमालेले सयमा शून्य अंक दिने बताएपछि शर्माले आफूले बनाएको बजेटको बचाउ गर्दै जिम्मा लिन तयार रहेको दाबी गरेका छन् ।
बजेटमाथि संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका थिए । शुक्रबार शर्माले त्यसको जवाफ दिँदै नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुने बताए ।
गएको चुनावमा एमालेको एजेण्डा अनुमोदन नभएको भन्दै शर्माले ओलीले माओवादीलाई अपमान गर्न नहुने बताएका हुन् । यस्तै, उनले गएको १० वर्षमा आएका बजेटलाई आयोग बनाएर छलफल गर्न चुनौति नै दिएका छन् ।
हामीलाई प्रतिबन्ध लगाउन लगाएर ठूला देशहरु गाँजाको विजनेस गरिरहेका छनः अर्थमन्त्री
अर्थमन्त्री डाक्टर प्रकाशसरण महतले ठूला देशहरुले गाँजामा प्रतिबन्ध लगाउन दबाब दिएपछि नेपालले कानून बनाएरै गाँजामा प्रतिबन्ध लगाएको दाबी गरेका छन् ।
अनुदान रोक्छौं भनेर ठूला देशले नेपालमा गाँजा प्रतिबन्ध लगाउन लगाएपनि उनीहरुले अहिले गाँजा उत्पादन गरेर बेच्ने गरेको भन्दै अब नेपालले पनि गाँजा उत्पादन गर्नेतर्फ सोच्नुपर्ने बेला आएको बताएका हुन् ।
शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले नेपाललाई गाँजा रोक्न दबाब दिनेहरुले नै अहिले गाँजाको विजनेस गर्न थालेको उनको तर्क छ ।
गाँजा नेपालको संस्कृति नै भएको बताएका मन्त्री महतले विदेशीका कारण रोकिएको बताएका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ ।
गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । तर, बजेटमाथिको छलफलमा कतिपय सांसदहरुले प्रश्न उठाएका थिए ।
उपसभामुखलाई आफ्नै घर जान डर
कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले आक्रमणमा उत्रने प्रवृति छोडी वार्तामा आउन पहिचान बादीहरुलाई आग्रह गरेकी छन् ।
शुक्रबार विराटनगरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचानवादीलाई यस्तो आग्रह गरेकी हुन् । उनले आफुमाथि भएको आक्रमणका कारण घर जान पनि डराउनुपर्ने अवस्था आएको बताइन ।
आफ्नो घर जान नसक्ने अवस्थामा पुगेको र आजदेखि केही दिनकोलागि घर जानु हुँदैन की भन्ने लागेको उनले बताइन । उनले पहिचान बादीहरुलाई व्यङ्ग्य गर्दै आफ्नो अधिकार खोज्नेहरूले अरूको अधिकारलाई पनि सम्मान गर्न जान्नुपर्ने बताइन ।
उनले आफूमाथि घर जाँदा केही मानिसले आक्रमण गरेको भन्दै दुःख समेत व्यक्त गरिन् । उपसभामुख दनुवारले कोशी प्रदेश सरकारले वार्ता टोली बनाएकाले वार्ताको माध्यमबाटै समस्याको समाधान गर्नुपर्नेमा जोड दिइन् ।
सामाखुशीमा महानगरको डोजर
काठमाडौं महानगरपालिकाले सामाखुशी खोला नै ढाक्ने गरी बनाइएका कंक्रिट संरचना (स्ल्याब) हटाउनका लागि डोजर चलाएको छ । बसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुशी खोलामाथिको कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको हो ।
शुक्रबारदेखि महानगरपालिकाले सामाखुशी खोला अतिक्रमण गरेर बनाइएका कंक्रिट ढलान, छोप्न प्रयोग भएका सामानहरु हटाउन सुरू गरेको महानगगर प्रहरीले जनाएको छ ।
खोला सतहमाथि कंक्रिटले ढाकेका ५–६ किलोमिटर जति ठाउँहरु हटाउनुपर्ने देखिएकाले हटाउनका लागि डोजर चलाइएको बताइएको छ ।
सामाखुशी खोला वरपर घर बनाउनेहरुले समेत तोकिएको मापदण्ड अनुसारको जमिन नछाडेकाले समस्या आएको महानगरको दाबी छ ।
सामाखुशी खोलालाई प्राकृतिक रुपमा आफ्नै ढंगले बग्न दिनका लागि अतिक्रमित क्षेत्रका भौतिक संरचना हटाउन सुरू गरिएको बताइएको छ ।