
काठमाडौँ । धरान धार्मिक द्वन्द्वबाट प्रताडित त हुँदैन ? ठूलो भय सिर्जना हुन पुगेको छ । गौ हत्या धार्मिक स्वतन्त्रतामाथि प्रहार गरेको धर्म सापेक्ष पक्षधरको आक्षेप छ, धर्मनिरपेक्ष मुकुलमा सामान्य रहेको टिप्पणी अर्को पक्षको छ । धरान जसरी अशान्त बन्ने डर पैदा हुँदै गएको छ, त्यसरी नै दलका शीर्ष नेताहरुले समस्या समाधानको सट्टा अनर्गल आक्षेपको सहारा लिएर राजनीति त गरिरहेका छैनन् ? आशंका छ । कांग्रेस नेता तथा सांसद डा. शेखर कोइरालाले पहिचानको मुद्दालाई राजनीतिक मुद्धा बनाउन खोज्दा समाजमा सद्भाव खल्बलिने र द्वन्द्ध निम्तिने खतरा बढेको छ ।
संविधानले नै नेपाललाई समावेशी समानुपातिक प्रतिनिधित्वको आधारमा सामाजिक न्यायसहितको संघीयता स्थापनाको परिकल्पना गरेको छ । यसको अर्थ पहिचानसहित जनतालाई सार्वभौम बनाउदै अधिकार सम्पन्न बनाउने भन्ने नै हो । नेपाल बहुभाषिक, बहुजातीय र बहु धार्मिक मुलुक हो । विभिन्न जातजाती र धर्मको समिश्रण रहेको मुलुकको संवेदनशीलता पनि उत्तिकै संवेदनशिल हुन्छ । जुन विषय यसअघिका मधेस आन्दोलन हुन् वा थरुहट आन्दोलन नै, यस्ता गतिविधिले पुष्टी गरिसकेका छन् ।
संघीयतामा जनताले अपनत्व खोज्नु सामान्य भएपनि यसको समाधान दिने राज्यले नै हो । राज्यले जनतालाई स्वीकार्य हुने गरि प्रदेश नामाकरणदेखि विभिन्न विषय सम्बोधन गर्नु निर्विकल्प शर्त नै हो । तर, यहाँ यस्तो हुन सकेको छैन । कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नै द्वन्द्व निम्त्याउने लागिपरेको गम्भीर आरोप लगाएका छन् । प्रचण्डले नेपालमा जातीय द्वन्द्ध निम्त्याउने प्रयास थालिरहेको कोइरालाको भनाई छ । उनी धरानमा देखिएको समस्यादेखि सबै विषयमा प्रचण्डलाई दोषी देख्न थालेका छन् ।
पहिचान के हो ? पहिचानको आधारमा प्रदेशको नामाकरण भनेको के हो ? यसको महत्व किन छ भन्ने कुरा कोइरालाले आफ्नै पार्टीका स्वर्गिय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीलाई बुझेको भएमात्रै पनि यसरी पेश हुँदैन थिए, सायद । जुन विषयलाई कांग्रेस महामन्त्री गगन थापाले गहिरो ढंगले आत्मसाथ गरेको देखिन्छ ।
थापाले प्रदेशको नामाकरण पहिचानको आधारमा गर्न सकिएको भए समाजको द्वन्द्ध घटाउन सकिने तर्क पेश गर्दै गर्दा कोइरालाका लागि पहिचानको विषय कसरी गलत भयो ? त्यो तर्क उनले दिएका छैनन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आदीवासी जनजातीको एक कार्यक्रममा पहिचान पक्षधरलाई आउने चुनावमा बहुमत दिए नामाकरण पहिचानको आधारमा गर्ने बताएको विषयमाथि राजनीति गर्न खोजिरहेका छन् । के भनेका थिए त प्रचण्डले ?
संविधानले नै गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध बोल्न पाइदैन भन्दा भन्दै राष्ट्रिय दलको मान्यता पाएको राप्रपा होस् वा कमल थापाको राप्रपा नेपाल नै किन नहोस्, उनीहरु गणतन्त्र खारेजीको माग राखिरहेका छन् । तर, संविधानले नै भनेको पहिचानको मुद्दामा हुने बहस भने द्वन्द्ध निम्त्याउन केन्द्रित हुने गरेको छ ।
विभिन्न जात जाती, भाषा धर्मका मानिस आपसी सद्भावमा बसेको तथ्यलाई स्मरण गर्दै धर्म रक्षाको नाममा गरिने ¥याली हुन वा गौ हत्या अधिकार हो भन्दै गरिने -याली नै किन नहुन् सचेततापूर्वक समस्या समाधानको बाटो खोज्नु सबैको दायित्व हो । सावधानी अपनाउन नसक्दा गौर प्रकरणदेखि टीकापुर नरसंहार हुँदै विभिन्न आन्दोलनका नाममा ठूलो धनजनको क्षति भइसकेको छ । यस्ता विषयबाट पाठ सिक्दै वार्ता र सम्बादलाई अघि बढाएर जानु नै अहिलेको आवश्यकता हो । पहिचानको मुद्दा र धर्मको विषय फरक हुन् । यी विषय एकै स्थानमा राख्न खोजियो भने पनि अर्को समस्या नआउला भन्न सकिन्न । त्यसैले नागरिकले नै सामाजिक सद्भाव कायम राख्ने जिम्मेवारी निभाउनैपर्छ ।