
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पुनः दाबी पेश गरेका छन् । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि दाबी पेश गरेका हुन् ।
थापाले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।
यसअघि मुख्यमन्त्रीमा नियुक्त हुँदा सभामुख बाबुराम गौतमको मतको समर्थन लिएका थिए । तर, यसपटक भने सभामुख गौतमलाई पदबाट राजीनामा दिन लगाएर गठबन्धन दलहरुले बहुमत पुर्याएका छन् ।
थापालाई गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीका १ सहित ४७ सांसदले समर्थन जनाएका छन् ।
९३ सदस्यीय प्रदेशसभा रहेको कोशीमा बहुमतको सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । प्रतिपक्षमा रहेको एमालेसँग ४० र राप्रपासँग ६ प्रदेश सांसद छन् ।