समाजवादी मोर्चाको तयारीले सत्तारुढ कांग्रेस र विपक्षी दलसमेत तरंगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ गते प्रधानमन्त्रीको नेतृत्व सम्हालेका थिए । यसबीचमा गठबन्धन अदलबदल गर्दै आजसम्म आइपुगेको प्रचण्ड नेतृत्वको सरकार फेरि संकटतर्फ धकेलिएको छ । सत्ता सहयात्री दल नेपाली कांग्रेसको अन्र्तद्वन्द्वका कारण सत्ता संकट चुलिएपछि यतिबेला समाजवादी मोर्चाको चर्चा चलिरहेको छ । मोर्चाको चर्चाले सत्ता गठबन्धन दलहरु मात्र होइन, विपक्षी दलहरुलाई समेत तरंगित बनाएको छ ।

नेकपा एमालेसँग विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी लगायतका दलहरुको छुट्टै मोर्चा बनाउने चर्चा यसअघि पनि चलेको थियो । तर समाजवादीसँग कुरा नमिल्दा मोर्चा घोषणा हुन सकेन । राष्ट्रपति निर्वाचनपछिको प्रयास सफल नभएपछि सेलाएको मोर्चा घोषणाको चर्चा फेरि शिखरमा छ । सत्तारुढ गठबन्धन भित्रकै दल नेपाली कांग्रेसभित्रको असन्तुष्टि उत्कर्षमा पुगेपछि गठबन्धनभित्रै अर्को समाजवादी मोर्चाको घोषणाको तयारी गरिएको हो । समाजवादी मोर्चामा नेकपा एस, जनता समाजवादी पार्टी (जसपा) र जसपाबाट अलग भई माओवादीकै चुनाव चिन्ह लिएर चुनाव लडेको नेकपा एकीकृत समाजवादी सहभागी हुँदैछन् भने संसदीय ब्यवस्थाको विरोध गर्दै आएका नेकपा (विप्लव) र तत्कालिन एमालेबाट अलग भएका नेता बामदेव गौतमलाई पनि मोर्चामा सहभागी गराउने पहल भइरहेको छ । मोर्चा हुँदै पार्टी एकताको प्रक्रिया अघि बढाउने नेताहरुले सार्वजनिक अभिब्यक्ति दिइरहेका छन् । मोर्चा घोषणाअघि मोर्चाको मोडालिटीबारे पनि सहमति भइसकेको नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धन कायमै हुँदा हुँदै गठबन्धनभित्रै अर्को मोर्चा घोषणाको तयारी गरिएपछि सत्ता सहयात्री नेपाली कांग्रेस मात्र होइन, प्रमुख विपक्षी दल नेकपा (एमाले)समेत तरंगित भएको छ । मोर्चा घोषणाको तयारी हुँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोशपूर्ण अभिब्यक्ति दिएका छन् । कांग्रेसलाई तर्साउन र एमालेसँग मुकबला गर्न मोर्चा बनाउन लागेको भन्दै ओलीले कटाक्ष गरेका छन् ।

सत्ता सहयात्री प्रमुख घटक नेपाली कांग्रेसलाई दबाब दिनकै लागि समाजवादी मोर्चा घोषणाको तयारी गरिएपछि कांग्रेसले एमालेको साथ लिने सम्भावना पनि बढेको छ । एमाले अध्यक्ष ओलीले आफूहरुले पनि राष्ट्रिय शक्ति निर्माण गर्न खोजेको बताएका छन् । नियमित उपचारका लागि भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा पनि यति सिंगापुरमा छन् । उपचारका लागि भनिए पनि देउवाको सिंगापुर यात्रा भने राजनीतिक महत्वको रहेको विश्लेषण भइरहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top