काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि मिसिएपछि मोर्चाको दूरगामी प्रभाव देखिएको ठोकुवा गरेका छन् ।
सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले विप्लव नेतृत्वको पार्टी मिसिएको यो मोर्चाको गुणात्मक र दूरगामी महत्व बढेको बताउँदै संसदमा लागेकाहरुको धुलोमैलो सफा गर्ने मद्धत मिलेको पनि बताए ।
उनले भने, ‘विप्लव नेतृत्वको पार्टी मिसिएको यो मोर्चाको गुणात्मक महत्व छ । हामी संसदमा लागेकाहरुमा केही धुलोमैलो लागेको छ । सायद विप्लव कमरेडजस्ता पार्टीहरु मोर्चामा आउँदा हाम्रो धुलो मैलो सफा गर्न पनि मद्धत हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले आजको मोर्चाको गठन र दूरगामी छ, क्षणिक छैन । दुःख, कमजोरी सबैबाट पाठ सिक्दै प्रतिगमनविरुद्ध यो मोर्चा गठबन भएको हो ।’
मोर्चा अन्तिम नभइ पहिलो पाइला भएको पनि उनले बताएका छन् । साथै, विगतमा हतारमा पार्टी एकता गरेर व्यवहारमा सफल बनाउन नसकेकोमा अबको विकल्प मोर्चा नै रहेको उनले बताए ।
उनले भने, ‘समाजवादी मोर्चा पहिलो पाइला हो अन्तिम पाइला हो । नयाँ युगतिर देशलाई लैजाने प्रक्रियाको सुरुवात भएको छ । हिजो हतारमा एकता गरेर व्यवहारमा सफल बनाउन नसकेका सबै पार्टी र नेताहरुलाई पनि हामी मोर्चाको बाटोबाट जाआँै । वैज्ञानिक बाटोबाट जाऔँ । अन्य वामपन्थी, प्रगतिशील दललाई यो मञ्चबाट अपिल गर्न चाहन्छु । सबैले आत्मसमीक्षा गरौँ ।’
निर्वाचनअघि नै तीन दलबीच समाजवादी मोर्चा अघि बढाउने छलफल भएको थियो तर, विविध कारण असम्भव भएको उनले बताए । यद्यपि, अहिले विप्लव नेतृत्वको माओवादी पनि समाजवादीमा मिसिएकोमा उनले यसको दूरगामी प्रभाव झनै देखिएको बताए ।