
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताएाक हुन् ।
उनले सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताए । देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको उनले बताए ।
नेपाल अग्रगमन र पश्चगमनबीचको लडाँइमा उभिएको भन्दै उनले प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन नदिनका लागि मोर्चा बनेको उल्लेख गरे । महासचिव विप्लवले देशको नेतृत्व अग्रगामीहरुले गर्ने बताए ।
उनले भने, ‘नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ, कुनैपनि मुल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन । कुनैपनि स्थितिमा हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनैपनि स्थितिमा स्वीकार गर्न सकिँदैन । नेपालको स्वाधिनता र नेपाली जनताको अधिकारको लागि एउटा नयाँ संघर्ष, लडाइँ अगाडी बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले एउटा नयाँ अभ्यास अगाडी ल्याएका छौँ, समाजवादी मोर्चा नेपाल । यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो ।’
महासचिव चन्दले देशमा नयाँ पुस्ताहरुलाई निराश बनाएर नेपालको अस्मिता लुट्ने कोशिस भएको बताए । उनले युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने पनि कोशिस भइरहेको भन्दै सचेत गराए । उनले नेपालीहरु स्वाधिन बन्न चाहाने उल्लेख गर्दै कसैको गुलाम स्वीकार्य नहुने स्पष्ट पारे ।
उनले भने, ‘नेपाली जनताले सुनिश्चित गर्नुपर्छ । त्यो विश्वास गर्न चाहन्छु । आज नयाँ पुस्तालाई निराश बनाएर नेपालको अस्मिता लुट्ने, नेपालको स्वाधिनता समाप्त पार्ने, युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने, लुट्ने, एक्काइसौँ शताब्दीको गुलाम बनाउने हामी नेपालीलाई । हामी स्वाधीन बन्न चाहान्छौँ । हामीले भनेका छौँ हामी कुनैपनि देशमा हामीलाई कुनै चासो छैन । तर यो देशमा हामी मान्छे भएर बाँच्न चाहन्छौँ । कसैको गुलाम हुन हामीलाई स्वीकार्य छैन ।’
उनले आगामी दिनमा मोर्चाले देशलाई आशा जघाउने काम गर्ने बताए । मोर्चाले शहीद तथा बेपत्ताहरुको समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्ने बताए । उनले मोर्चाले देशमा भएका राजनीतिक परिवर्तनहरुको रक्षा गर्ने बताए ।