समाजवादी मोर्चा : ‘विप्लव सी’को इन्ट्री हुँदा उछिट्टिए बाबुराम !

काठमाडौं । नेकपा माओवादी केन्द्रकै चुनाव चिन्ह लिएर गएको संघ र प्रदेशको निर्वाचनमा भाग लिएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी समाजवादी मोर्चाबाट छुटेका छन् ।

विचार मिल्ने शक्तिहरुबीच समाजवादी मोर्चा बनाउने सहमति भएको भनी भट्टराईले सार्वजनिक अभिब्यक्ति दिएका थिए । संसदीय ब्यवस्था नै अस्वीकार गरेका विप्लव सीको मोर्चामा सहभागिता हुँदा बाबुराम भट्टराई किन छुटे त ?

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले विचार मिल्ने शक्तिहरुबीच समाजवादी मोर्चा बनाउने सहमति भएको केही दिन नै सार्वजनिक गरेका थिए ।

उपेन्द्र यादवसँगको टसलका कारण भट्टराई मोर्चामा सहभागी नहुने चर्चा चलेपछि भट्टराईले समाजिक सञ्जालमा स्टाटस लेख्दै बाहिर चलेको हल्लामा नबग्न आग्रह गरेका थिए ।

देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको भट्टराईले बताएका थिए ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा विप्लवका साथै नेकपा एकता अभियान चलाएका पूर्व एमाले नेता बामदेव गौतमसमेत सहभागी हुने भनी प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै बताएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक वर्षअघि नै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र बाबुरामसँग एकता गर्न चाहेका थिए । नेता नेपालको संगठन देशभर विस्तार नभइसकेकाले उनी एकता लागि तयार भएनन् भने भट्टराईले कम्युनिस्ट पार्टी नराखी समाजवादी केन्द्र बनाउन सकिने बताएका थिए ।

पार्टी एकताका लागि भएको सोही प्रस्ताव अनुसार नै बाबुरामले माओवादी केन्द्रकै चिन्ह लिएर गएको चुनावमा संघ र प्रदेशको चुनावमा भाग लिएका थिए ।

वर्तमान सरकार संकटमा पर्दै गएपछि मोर्चा घोषणा गर्न प्रचण्ड आतुर थिए । तर बाबुरामसहितको मोर्चामा बस्न उपेन्द्र तयार भएनन् । सत्तामा आफूलाई बलियो बनाउन चाहेका प्रचण्डले १२ सिट रहेको उपेन्द्रलाई अलग राख्न चाहेनन् ।

त्यसैले बाबुरामलाई छाडेरै सोमवार समाजवादी मोर्चा घोषणा भएको छ । तर संविधानको रक्षा र कार्यान्वयनका लागि भन्दै घोषणा गरिएको मोर्चामा संसदीय ब्यवस्था नै अस्वीकार गर्दै आएका विप्लव सीको प्रवेशलाई भने अनौठो रुपमा हेरिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top