समाजवादी मोर्चा : सत्ता टिकाउने अस्त्र कि क्रान्तिको विगुल ?

  • सितल रिजाल

काठमाडौं । परिवर्तनको रक्षा र लोकतन्त्रको सुदृढीकरणको नारासहित सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहितका ४ दलले सोमबार समाजवादी मोर्चा घोषणा गरेका छन् । भविष्यमा पार्टी एकताको उद्देश्यसहित घोषणा गरिएको मोर्चामा संसदीय व्यवस्थालाई इन्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि समाहित भएको छ । यसरी संसदीय व्यवस्थालाई अंगाल्दै आएका दल र संसदीय व्यवस्थाको विरोध गर्ने दलहरुको मोर्चा कति दिगो हुन्छ ? यसको उद्देश्य प्रचण्डको सत्ता टिकाउन मात्रै केन्द्रित हुन्छ या समाजवाद निर्माणमा अग्रसर हुन्छ ? आमा चासोको बिषय बनेको छ ।

सदन, सरकार र सडकबाट एकैपटक दबाबमूलक भूमिका निर्वाह गर्ने हेतुका साथ सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र सहित ४ दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार घोषणा भएको मोर्चामा संसदीय व्यवस्था अंगालेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संसदीय व्यवस्थालाई नै इन्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् । संसदीय व्यवस्था र अहिलेको संविधानको कुनै औचित्य नभएको तर्क गर्ने विप्लव किन संसदवादी दलहरुसँगै मोर्चामा समाहित हुन पुगे ? प्रश्नको जवाफ आम नागरिकले खोजिरहेका छन् । यद्यपी विप्लवले भने राष्ट्रिय स्वाधिनताको रक्षा गर्न र अलमलिएको राजनीतिलाई नयाँ मोड दिन मोर्चा आवश्यक भएको बताएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका अधयक्ष उपेन्द्र यादवले राष्ट्रको हित र परिवर्तको रक्षाका लागि मोर्चा गठन गरेको बताएका छन् । राजनीतिक अस्थिरता, विभेद र असमानताको अन्त्य गर्दै सुशासनको बाटोबाट समाजवादको आधार तय गर्न मोर्चा गठन गरिएको उनको दाबी छ ।

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउन मात्रै नभएर समस्त क्रान्तिकारीहरूलाई एकताबद्ध गर्न अगाडी बढ्नुपर्ने सुझाएका छन् ।

यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने कसैलाई घुक्र्याउन र तर्साउन मोर्चा गठन नगरिएको बताएका छन् । नेकपा एमाले र अध्यक्ष केपी ओली तर्फ संकेत गर्दै उनले मोर्चाको उद्देश्य कसैसंग मुकाविला गर्ने नभई समाजवादको आधार तय गर्ने भएकाले कोही पनि आत्तिनु नपर्ने बताए ।

मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा हतारमा पार्टी एकता गरेकाले नेकपा असफल भएको स्वीकार गरेका छन् । उनले मोर्चाको बाटोबाट नगई फड्केर जाँदा दुर्घटना भएको भन्दै अग्रगमनको पक्षमा रहेका दलहरूलाई मोर्चामा सहभागी हुन आग्रह गरे ।

यसरी निकै उत्साह र तामझामका साथ घोषणा गरिएको मोर्चा कति दिगो हुन्छ ? संसदवादी दल र संसदीय व्यवस्थालाई बाहिष्कार गर्ने दलबीचको सहकार्यले के साँच्चै सार्थकता पाउला त्यो भने समयक्रमकँगै खुल्नेछ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top