सरकारको ऋण २१ खर्ब नाघ्यो, बैंकको लापरबाहीले कर्जा दुरुपयोग

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक ऋणको संक्षिप्त प्रगति विवरणअनुसार गत जेठसम्म सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । सरकारले तिर्न बाँकी कुल ऋणमध्ये बाह्यभन्दा आन्तरिक ऋण २६ अर्बले बढी छ । गत जेठसम्म १० खर्ब ९९ अर्ब ७२ करोड आन्तरिक ऋण र १० खर्ब ७३ अर्ब ५२ करोड बाह्य ऋण तिर्न बाँकी छ । गत जेठसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा ७४ हजार ४ सय ४५ रुपैयाँ बराबर ऋण छ । जेठसम्मको सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा करिब ४०.३८ प्रतिशत हो । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

बैंकहरूको लापरबाहीले कर्जाको दुरुपयोग बढ्यो : राष्ट्र बैंक

बैंकहरूको लापरबाहीका कारण कर्जाको दुरुपयोग बढ्दै गएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकको बैंकिङ सुपरिवेक्षण विभागले बुधबार सार्वजनिक गरेको ‘वार्षिक बैंक सुपरिवेक्षण प्रतिवेदन’अनुसार आर्थिक वर्ष ०७८÷७९ मा वाणिज्य बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतहरूको अनुशासनहीनताले खराब कर्जा मौलाएको निष्कर्ष छ  । कतिपय अवस्थामा ऋणीको आवश्यकता नपहिल्याई ओभर फाइनान्सिङसमेत भएको पत्ता लागेको छ । केही बैंकहरूले ५० लाख रुपैयाँभन्दा बढीको व्यक्तिगत कर्जा आफूखुसी प्रवाह गरेको तथा आयस्रोत खुलाउने आधिकारिक कागजातसमेत नलिई कर्जा नवीकरण गरिरहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, अधिकांश बैंकमा सीमित निक्षेपकर्ताको ठूलो मात्रामा निक्षेप रहेकोले कुनै समयमा यस्तो निक्षेप झिकिएको अवस्थामा बैंकहरूमा तरलताको चरम अभाव हुने जोखिम रहेको उल्लेख छ ।

अब नयाँ चलचित्र डिशहोममा

वर्षभरि रिलिज भएका सर्वाधिक सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र प्रदर्शन हुने भएका छन् । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर यस्ता फिल्म हेर्न सक्नेछन् । प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ जस्ता नयाँ र दर्शकहरुले अत्याधिक रुचाएको चलचित्रहरु डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछन् । नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास व्यक्त गरेको छ ।

१ अर्ब ७० करोडमा सुर्खेत मेडिकल कलेज निर्माण हुने

प्रस्तावित सुर्खेत मेडिकल कलेज निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ लाग्ने भएको छ । कर्णाली प्रदेशको सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास आयोजनाले निर्माण गर्न लागेको हो । यो ६ सय शैय्याको हुनेछ भने १ सयजना वार्षिक विद्यार्थी क्षमता रहेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार प्रस्तावित आयोजनको कुल क्षेत्रफल २९.८८९ हेक्टर रहने मेडिकल कलेज सबै वनक्षेत्रमा पर्छ । आयोजनाका लागि प्रस्ताव गरिएका साइट ‘ए’ र साइट ‘बी’ बीचको दुरी २ किमी रहेको छ । करिब ४ मिटर चौडाइको सडक बनिसकेको छ । आयोजना सुर्खेत विमानस्थलबाट ३ किमी दुरीमा पर्छ । आयोजनाको जम्मा क्षेत्रफल ९५ हजार १६० वर्ग मिटर छ । इआईए स्वीकृत भएपछि निर्माणको काम अघि बढाउने तयारी छ ।

मेलम्चीको पाइपलाइन बोर्डलाई हस्तान्तरण

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले मेलम्ची खानेपानी उप–आयोजना–२ अन्तर्गतको ७१.७२ किमी पाइलाइन उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ । बिहीबार खानेपानी वितरण सञ्जाल सुधार कार्यको चारवटा प्याकेज अन्तर्गत पाइपलाइनको स्वामित्व हस्तान्तरण गरिएको हो । खानेपानी मन्त्रालयका सचिव रामआधार साहको उपस्थितिमा आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले स्वामित्व हस्तान्तरण सम्बन्धी सम्झौता गरेका छन । यो आयोजना अन्तर्गत १ हजार १० किमी पाइपलाइन विच्छ्याइएको छ । जसमध्ये करिब ४० करोड १४ लाख रुपैयाँ बराबरको पाइलाइन हस्तान्तरण गरिएको हो । त्यसैगरि, चारवटै प्याकेजमा पर्ने क्षेत्रका करिब ८५ हजार घरहरूमध्ये २० हजार ४०० भन्दा बढी घरहरूमा पानीको प्रवाह, चुहावट मापन र परीक्षण लगायतका कार्य सम्पन्न गरी नयाँ वितरण प्रणालीबाट नियमितरूपमा खानेपानी वितरण सुरु भएको छ ।

नेपाल र बंगलादेशका होटल व्यवसायीबीच सहकार्य हुने

होटल संघ नेपाल (हान) र बंगलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा)बीच पर्यटन प्रवर्द्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार समझदारीपत्रमा हानका अध्यक्ष विनायक शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले हस्ताक्षर गरेका हुन । हानको आयोजना, नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहयोगमा जुन २१, २०२३ बुधबारका दिन ढाकास्थित होटल सेराटनमा पर्यटन प्रवर्द्धन तथा बीटुबी कार्यक्रम समेत गरिएको थियो । सो अवसरमा बंगलादेशका विभिन्न सहरका संघ संस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसायी उपस्थित रहेको हानले जनाएको छ । होटल संघ नेपालको नेपाली प्रतिनिधिमण्डलका २४ होटल सदस्यहरुले बीटुबी कार्यक्रम सम्पन्न गरेका हुन् । उक्त अवसरमा होटल संघका अध्यक्ष विनायक शाहले यस कार्यक्रमबाट बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने विश्वास लिइएको बताएका छन ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top