
काठमाडौँ । संघीय सरकारको सञ्चित कोष १ खर्ब ९९ अर्ब रुपैयाँले घाटामा गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले राजस्व, अनुदान तथा आन्तरिक र बाह्य ऋण लिएर प्राप्त गरेको रकमभन्दा बढी रकम खर्च गरेकाले सञ्चित कोष घाटामा गएको हो । संघीय सरकारको खातामा राजस्व, ऋण र अनुदानको पैसा नभएपनि धरौटी खाता लगायतका विभिन्न कोषमा भएको पैसाले हाल अर्थ मन्त्रालयले विभिन्न खर्चको भुक्तानी गरिरहेको छ । गत वर्षको अन्त्यमा सरकारको सञ्चित कोष ५४ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो । चालू आर्थिक वर्षको असार १६ सम्म मात्रै सञ्चित कोष १ खर्ब ४४ अर्ब रुपैयाँले घाटामा गएपछि समग्र सञ्चित कोषका घाटा १ खर्ब ९९ अर्ब पुगेको हो ।
लगानी बोर्डलाई पावर चाइनाको जवाफ
पावर चाइनाले लगानी बोर्डको असहयोगका कारण तमोर जलविद्युतको लाइसेन्सका लागि आवेदन दिन नसकेको जवाफ दिएको छ । कम्पनीले दुई पटक पत्र पठाउँदा पनि लगानी बोर्डले कुनै जवाफ नपठाएको भन्दै गम्भीर असन्तुष्टि जनाएको हो । ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना भारतीय कम्पनी सतलज विद्युत निगम (एसजेभीएन)लाई दिनका लागि बोर्डले कम्पनीसँग एक महिनाको अवधि राख्दै स्पष्टीकरण मागेको थियो । चिनियाँ कम्पनीले भारतीय कम्पनीको पक्षपोषण गर्दै तल्लो अरुण समेत दिएको विषयलाई पनि उठाएको छ । पावर चाइनाले तल्लो अरुण बनाउन आवेदन दिएको थियो । तर सरकारले एसजेभीएनलाई यो आयोजना दिइसकेको छ । तमोर विकास गर्न सन् २०२० मा एचआइडीसीएल, लगानी बोर्ड र पावर चाइनाबीच त्रिपक्षीय सम्झौता भएको थियो ।
राष्ट्र बैंकले २० अर्ब तानेपछि पुनः बढ्यो अन्तर बैंक दर
नेपाल राष्ट्र बैंकले बजारमा बढी भएको तरलतामध्ये २० अर्ब रुपैयाँ तानेपछि अन्तर बैंक ब्याज दर पुनः बढेको छ । २ प्रतिशतमा झरिसकेको अन्तर बैंक सापटी दरबीच रिभर्स रिपोपछि ६ प्रतिशत पुगेको थियो । रिभर्स रिपोको अवधि सकिएपछि पुनः ३ प्रतिशतमा आएकोमा बुधबार पुनः बढेको छ । अहिले पनि बजारमा ५३ अर्ब रुपैयाँ अधिक तरलता छ । बैंकहरुका अनुसार बुधबार, अन्तर बैंक सापटीको औषत दर ५.०६ प्रतिशत छ । अधिकतम ५.३७ र न्यूनतम ४.४९ प्रतिशत छ । पछिल्लो समय निक्षेप निरन्तर बढेको तर ऋणको माग नहुँदा बैंकहरुमा तरलता थपिएको छ । थपिएको तरलताले अन्तर बैंक सापटी झर्न थालेपछि त्यसलाई ब्यवस्थापन गर्न राष्ट्र बैंकले रिभर्स रिपो गरिरहेको छ ।
आईपीओेमा फसेको रकम असार भित्रै फिर्ता गरिने
धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपिओमा फसेको लगानीकर्ताको रकम असार मसान्तभित्रमा खुला गर्ने भएको छ । बोर्डले अनुसन्धानको लागि भन्दै असार ४ गते कम्पनीको सेयर निष्कासन प्रक्रिया तत्काललाई रोक्का गरेको थियो । तर, असार अन्त्यमा वार्षिक विवरण तयार गर्नुपर्ने, कर तिर्नुपर्ने भएकोले लगानीकर्तालाई यस्तो समयमा समस्यामा नपार्ने बोर्डले जनाएको छ । कम्पनीको सेयरमा ५ लाख ६२ हजारभन्दा धेरैले ९ अर्ब ८३ करोड रूपैयाँ बराबर रकमको आवेदन दिएका थिए । कम्पनीको सेयरमा धेरै आवेदन परेको देखाउन सुरूमा केही दिनमा फर्जी आवेदन हालेको पाइएपछि निष्कासन तत्काललाई रोक्का गरिएको थियो ।
बालेनको निर्देशनमा हिमालयन कफीलाई कारबाही
बजार अनुगनमनका क्रममा काठमाडौंको हिमालयन कफी पसल कारबाहीमा परेको छ । अनुगमनका क्रममा बत्तिसपुतलीस्थित उक्त कफी पसलामा ‘डेट एक्सपायर’ भएको वस्तु फेला परेपछि कार्वाही गरिएको हो । मेयर बालेन्द्र शाहको निर्देशनमा मंगलबारदेखि सुरु गरिएको बजार अनगुमनको पहिलो दिन नै कफी पसललाई कार्वाही गरिएको हो । महानगरका अनुसार कार्वाहीमा परेको हिमालयन कफी पसलमा उपभोग्य म्याद सकिएको केकजन्य वस्तु फेला परेको थियो । पसलमा भेटिएको म्याज गुज्रिएको वस्तु बरामद गरी कफी पसललाई १० हजार रुपैयाँ जरिवना गरिएको छ ।