सरकारको गतिविधिले गठबन्धनमा खटपट, कोशी बन्यो मसला

सरकारको गतिविधिले गठबन्धनमा खटपट, कोशी बन्यो मसला

काठमाडौं । सरकारको गतिविधिले सत्ता गठबन्धनमा खटपट बढिरहँदा त्यसमा कोशीको राजनीतिले घिउ थपिरहेको छ । संविधान लत्याएर सत्ता गठबन्धनले कोशीमा सरकार बनाउन दवाव दिएको भन्दै केन्द्रीय नेताहरु आरोप प्रत्यारोपमा उत्रेका छन् । गठबन्धनको नेतृत्वकर्ता कांग्रेसभित्रै पक्ष विपक्षमा बहस भइरहँदा अन्य दलहरुसमेत आक्रोशीत छन् । यसले सत्ता गठबन्धनमा दरारको खतरा झन बढाएको छ ।

कोशी प्रदेशमा सरकार गठनको रमिताले केन्द्रमै भुकम्प ल्याइदिएको छ । केन्द्रीय सत्ता गठबन्धनको आलोचनाका लागि कोशीको विषय बलियो आधार बनिरहेको छ । केन्द्रकै दवावमा २–२ पटक संविधानलाई कुल्चेर गठन भएको कांग्रेस नेतृत्वको सरकार कोशीका लागि घाँडो बनेको छ । सर्वोच्च अदालतले दुवै पटकको सरकार गठन प्रक्रिया गलत रहेको ठम्याइसकेको छ । सर्वोच्चको आदेशपछि दोस्रो पटक गठन भएको कांग्रेस नेतृत्वको सरकार पनि अन्यौलमा छ । यद्यपी केन्द्रमा संसदीय सेटिङमा बार्गेनिङ गरेर राप्रपालाई प्रदेशमा साथ लिने अस्त्र गठबन्धनले अपनाएको छ । यसअघि संविधान विपरित सरकार गठनका लागि दवाव दिइएको भन्दै केन्द्रमै नेताहरुबिच आरोप प्रत्यारोप सुरु भइसकेको छ । गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र कोशीको विषयले उग्ररुप लिँदै गएको छ । गठबन्धनको बलमा संविधान कुल्चने प्रयास भएको भन्दै शेखर समुहले असन्तुष्ट छ ।

शेखर पक्षमात्र होइन, देउवालाई नै साथ दिँदै आएका नेताहरुले समेत कोशीको रमितालाई रुचाएका छैनन् । केन्द्रले दवाव दिएर प्रदेशको अस्तित्वलाई नै स्विकार्न नसकेको भन्दै नेताहरु चिढिएका छन् ।

कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार सहज बहुमतमा थियो । उक्त सरकारले विश्वासको मत नपाएर २–२ पटकसम्म कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठनको दावी गर्दा दुवै पटक प्रक्रिया नमिलेको अदालतले ठहर गरिसकेको छ । यद्यपि मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको अन्तिम फैसला अदालतबाट आउँन बाँकी छ । असंवैधानीक प्रक्रिया अपनाउनका लागि केन्द्रीय सत्ता गठबन्धनले नै दवाव दिएको बताउँछन्, सत्ता गठबन्धन दल नेकपा एकिकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल ।

कोशीमा अब राप्रपाले कृपा गरिदिए नयाँ प्रक्रियाबाट गठबन्धनकै सरकार बन्ला तर सत्ता गठबन्धनलाई बिझाउने विषय कोशीको राजनीतिमात्र होइन । केन्द्रमा सरकारको पछिल्ला गतिविधिले नेपाली कांग्रेसलाई सत्ता सहकार्यमा सकस पारिरहेको छ । भ्रष्टाचार छानविनमा पक्षधरता देखाएकोमा देउवा स्वयं सरकारसँग सन्तुष्ट छैनन् । गठबन्धनमा विभाजनको आगो बलिरहेकै छ, त्यसमा कोशीले घिउ थपेको मात्र हो, यसले कुन रुप लिन्छ, हेर्न बाँकी छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *