सरकारलाई रविले किन भने यस्तो ? बाबुराममाथि आपत

काठमाडौं । भ्रष्टाचारको विरोध र आन्दोलन सदनदेखि सडकसम्म चर्किएको छ । सदनमा सांसदहरुले भ्रष्टाचारको विरोध जारी राखेका छन भने सडकमा युवादेखि विभिन्न दलका भातृ संगठनका नेताहरुले आवाज उठाउदै आएका छन् ।

नक्कली शरणार्थी प्रकरणले सर्वसाधारणमा सरकारप्रति आशा जगाएको बेला दलका नेताहरुले भने चित्त बुझाउने ठाउँ अझैं किन देख्न सकेनन् ?

काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलन गरिरहेका छन् । भ्रष्टाचार निर्मुल पार्नका लागि सबैले मिलेर अघि बढ्नुपर्ने भन्दै नागरिक समाज र अगुवाको आन्दोलनमा दलका नेताहरु सहभागी हुने र आफ्ना कुराहरु राख्ने प्रचलन पुरानो नै हो ।

यहि क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कार्यक्रम स्थलमा पुगेर सरकारले भ्रष्टाचारका फाइल खोलेर मात्रै नहुने दाबी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारले नै सफलता पाएको भन्न नसकिने दाबी गरेका छन् ।

उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफल भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताए ।

यता, वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले भूटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताएका छन् । सरकारले शीर्ष नेताहरुको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको दाबी गरे ।

कुनैपनि दलले बहुमत प्राप्त गर्न सक्ने स्थिति नरहेको र अहिलेको सरकार पनि त्यसैको अंग भएकाले निष्पक्ष रुपमा भूटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको उनको भनाई छ ।

नागरिक आन्दोलनको क्रममा नेताहरुले दिएका अभिव्यक्तिकै कारण केहिबेर बाबुराम भट्टराईको विपक्षमा विरोध समेत हुन पुगेको थियो ।

पछिल्ला केहीदिन यता भ्रष्टाचारका कारण मुलुकको अवस्था जर्जर बन्न पुगेको भन्दै निरन्तर विरोध हुने गरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको बेला दलका नेताहरुबीच बाक्लिएको भेटवार्ता र सतहमा आएका केहि प्रक्रियाले अनुसन्धानमा दलीय गोप्य सहमति हुने र प्रकरण नै सेलाउने त होइन भन्ने प्रश्न उव्जिएको छ । तर, खबरदारीसँगै सरकारलाई समर्थन गर्नैपर्ने बेला भने आएको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top