काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन् ।
ओलीले खशी, बोकालगायतका वस्तुहरु चोरी पैठारी गर्दा पनिसरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठन नसकेको समेत बताए ।
राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए । अध्यक्ष ओलीले विद्युत मुलुकका लागि पर्याप्त नभएपनि सरकारले पुगेजसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभुत रुपमा लोडसेडिङ मुक्त गराएको दाबी समेत गरे । ओलीले भने, ‘खसी, बोका ट्रकका ट्रक आउँछ । यो कुनै मुख्य भन्सारबाट होइन । मुख्य बाटोबाट होइन । अरु बाटोबाट आएको आएकै छ । मुख्य बाटोबाट पनि आउँछ । किनभने देउरालीमा पाती राख्नुपर्छ । देउरालीमा पाती चढाउने, ट्रक पास । किन राजश्व उठदैन ? त्यतापट्टी म अहिले जान चाहन्न । सच्याउनुपर्ने थुप्रै कुरा छ । धेरै कुराहरु सच्याउनु पर्नेछ । मैले आफ्नो समयमा सच्याउन खोजेको थिए । ऊर्जाको क्षेत्रमा मैले प्रधानमन्त्री हुने बित्तिकै २०७२ साल असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएको थिए । कार्तिक १५ गते सपथ लिएका थिए । दशैँको समय पारेर मैले झापामा बोलेका थिए–आउँदो तिहार आधारभुत रुपमा बत्ति निभाइने छैन । तपाईहरुले उज्यालो तिहार मनाउन पाउनुहुन्छ ।’
अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताए ।