
काठमाडौं । झन्डै ११ महिनापछि मंगलबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरिक हुन निकै उत्साहका साथ कांग्रेस केन्द्रीय सदस्यहरु सानेपा पुगेका थिए ।
त्यहि हुलमा थिए कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि । तर, उनको आगमन भने अरु भन्दा भिन्न थियो । भिन्न किन भने उनी आफू मुख्यमन्त्री हुँदा पाएको सरकारी नम्बर प्लेटको गाडीमै सानेमा पुगेका थिए ।
पद गएको झन्डै ६ महिनासम्म पनि सरकारी गाडी र चालक लिएर निर्वाध रुपमा पार्टीका कार्यक्रममा सरिक हुन पुगेपछि उनीमाथि नैतिक प्रश्न तेर्सिएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीबाट सरकारमा गएकाहरुले काम गर्न नसक्दा क्षति हुने भन्दै बहस चलिरहेको बेला गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी गाडी फिर्ता नगरेको पाइएको छ ।
मुख्यमन्त्री हुँदा पाएको सरकारी गाडी, चालक समेत लिएर पार्टीको कामदेखि जताकतै हिडिरहेका कृष्णचन्द्रले पार्टी बैठकमा कस्तो विषय उठान गरे होलान ? प्रश्न उठाउन थालिएको छ ।
आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग १ झ ६०१ गाडी र सरकारी चालक ६ महिना बितिसक्दा पनि फिर्ता गरेका छैनन् । उनी गत पुस २५ गते पदमुक्त भएका थिए ।
मंगलबार केन्द्रीय समिति बैठकमा सरिक हुन पुगेका कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सरकारी गाडीमा सवार देखिए ।
उनले प्रयोग गरेको सरकारी नम्बर प्लेटको गाडी मुख्यमन्त्री हुँदा पाएको गाडी हो । उनको मुख्यमन्त्री पद गएको ६ महिना भन्दा धेरै भइसकेको छ ।
अहिले उनी सरकारी गाडी प्रयोग गर्न पाउने कुनैपनि पदमा आसिन छैनन् । यस्तोमा उनले उक्त गाडी फिर्ता गरिसक्नुपर्ने हो । तर, पद गएको ६–६ महिनासम्म पनि गाडी फिर्ता गर्ने त परको कुरा सोहि गाडी बोकेर उनी पार्टीका विभिन्न कार्यक्रममा दौडिरहेका छन् ।
पूर्वमूख्यमन्त्री पोखरेल गत पुस २५ गते पदमुक्त भएको थिए । सामान्यतया कुनैपनि सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पद गएपछि सबै सरकारी सुविधा त्यागसहित गाडी चालक जस्ता कुरा राज्यलाई नै फिर्ता गर्नुपर्ने हो । तर, एकपटक प्रदेशको मुख्यमन्त्री भइसकेका जिम्मेवार व्यक्तिले यसरी सरकारी सम्पतिको दुरुपयोग गरिरहँदा पोखरेलमाथि यतिबेला नैतिक प्रश्न तेर्सिएको छ ।
सुशासन, भ्रष्टाचार नियन्त्रण र देशको पक्षमा काम गर्ने बताउने कांग्रेस र उनले कुन नैतिकताको आधारमा सरकारी सवारी र चालक प्रयोग गरिरहेका छन ?
यो प्रश्न पेचिलो बन्न पुगेको छ । तर, उनले आफूले गाडी फिर्ता गर्ने र गाडी फिर्ताका लागि कुनै जानकारी नआएको भन्दै आलटाले जवाफ दिएका छन् ।
गृहमन्त्रालयले नै पछिल्लो समय सरकारी गाडीको दुरुपयोग नगर्न सर्कुलर नै जारी गरेको छ ।
मन्त्रालयले सरकारी गाडीेको दुरुपयोग रोक्न बारम्बार निर्देशन जारी गर्ने गरेको भएपनि यो क्रम भने रोकिएको छैन् ।
अझ पछिल्लो समय त पदमा हुँदा पाएका गाडीहरुको दुरुपयोग हुने र व्यक्तिगत प्रयोजनमा समेत प्रयोग गर्ने क्रम बढ्दै गएको छ ।
राज्यको सम्पत्तिमाथि नेता र पूर्वभीआईपीहरुले गर्ने व्यवहारका कारण पनि समस्या सिर्जना हुने गरेको छ । तर, कृष्णचन्द्रजस्ता नेताहरुले यस्तो क्रमलाई रोक्न अग्रसर कहिले बन्ने ? वा उनको पार्टीले नै अंकुश लगाउने प्रश्न भने अनुत्तरित बन्न पुगेको छ ।