सरुवा–बढुवामा लेनदेन गर्नेलाई पनि जेल हाल्छु, माओवादीकै भए पनि छाड्दिनँ : गृहमन्त्री

सरुवा–बढुवामा लेनदेन गर्नेलाई पनि जेल हाल्छु, माओवादीकै भए पनि छाड्दिनँ : गृहमन्त्री

 

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । साथै अनियमितता, सरुवा–बढुवामा भनसुन आदि गर्नेलाई पनि नछाड्ने उनले बताए ।

शनिवार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरेर दोषीमाथि कारबाही हुने बताए । उनले आफू राम्रो काम गरेँ भन्दै विश्राम गरेर नबस्ने पनि बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए । उनले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए ।

‘तपाईहरुले अहिले भर्खरै देख्नुभएको छ, आफ्नै देशका नागरिकलाई अनागरिक बनाई, अर्काको देशको शरणार्थी बनाई सम्पति आर्जन गर्नका लागि अर्को देशमा शरणार्थी बनाएर पठाउने जुन योजना थियो, त्यो योजना अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रुपमा गरेर दोषीमाथि कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेस गर्ने प्रक्रिया भएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘हामी आशा गर्छौं, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन । राज्यका अरु अंगहरुले पनि सकारात्मक निर्णय गर्नेछ भन्ने आशा गर्नैपर्छ । हामीले एक दुई वटा राम्रा काम गरेका छौँ भनेर विश्राम गर्ने पक्षमा छैनौँ । हामी सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मर्ला थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन । त्यसरी नयाँ ढंगले काम गर्दैछौँ । सबैको सहयोग चाहिएको छ ।’

 

साथै कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिने गरेमा तिनीहरुलाई पनि जेल हाल्ने उनको भनाइ थियो । उनले भने, ‘हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ । खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु ।’

उनले आफू सयौँपटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *