
कमलेश चन्द्र गुप्ता
कपिलवस्तु — सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर, कपिलवस्तुले “Quick Impact Project (QIP)” अन्तर्गत भिल्मीमा सर्वसाधारणका लागि शुद्ध पिउने पानीको धारा निर्माण गरी उद्घाटन गरेको छ। उक्त धारा सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले एक समारोहका बीच उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहमा उपरीक्षक पाण्डेले यो परियोजनाले सशस्त्र प्रहरी कार्यालयका कर्मचारीहरूसँगै स्थानीय बासिन्दालाई शुद्ध पिउने पानीको सहज पहुँच उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यो पहलले समुदायको स्वास्थ्य सुधार्न र ग्रामीण क्षेत्रको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले सशस्त्र प्रहरी बलद्वारा सीमा क्षेत्रमा विद्यालयहरूमा पाठ्य सामग्री वितरण, स्वास्थ्य शिविर, र सीपमूलक तालिमजस्ता अन्य जनसेवा परियोजनाहरू पनि सञ्चालन भइरहेको जानकारी दिनुभयो।
कार्यक्रम सञ्चालन गर्दै सशस्त्र प्रहरी निरीक्षक बिर्ख बहादुर भण्डारीले धारा निर्माण शुद्ध पानीको आवश्यकता पूर्ति गर्न गरिएको उल्लेख गर्दै यसको दिगो उपयोगका लागि स्थानीय समुदायको सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा कृष्णनगर नगरपालिका वार्ड नं. ६ का वडाध्यक्ष जावेद आलम खा, महाराजगंज नगरपालिका वार्ड नं. ७ का वडाध्यक्ष राम रूप बढाई, समाजसेवी अब्दुल रकिब मुसलमान र अब्दुल एजाज मुसलमानसहित अन्य स्थानीयको उल्लेखनीय उपस्थिति थियो।

स्थानीय बासिन्दाहरूले सशस्त्र प्रहरी बलको प्रयासको प्रशंसा गर्दै धाराको निर्माणले शुद्ध पिउने पानीको अभाव कम गर्न र दैनिक जीवन सहज बनाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे।
यो परियोजना सशस्त्र प्रहरी बलको जनमुखी सेवाभाव र ग्रामीण विकासप्रतिको प्रतिबद्धताको उत्कृष्ट उदाहरणका रूपमा चित्रण गरिएको छ।
