काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६१ किलो सुन सिनामंगलबाट बरामद भएको झण्डै डेढ महिना भइसकेको छ । सुन बरामदपछि झण्डै एक महिना सदन अवरुद्ध बन्यो । उच्चस्तरीय छानबिन आयोग बनाउने सहमतिपछि सदन त खुल्यो तर संसदमा सुनकाण्डकै जुहारी चलि नै रहेको छ ।
चार दलीय समाजवादी मोर्चाको कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुटवल जाने हतारो भइरहँदा मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्ने कार्यसूची थियो ।
सांसदहरुको रेडिमेट प्रश्नको उत्तर तयार गरेर प्रतिनिधिसभाको रोष्टममा उभिएका प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार सुशासनको बाटोमा अघि बढिरहेको दाबी गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरण हुँदै बालुवाटारको ललिता निवास जग्गा प्रकरणको फाइल खोलेर चर्चा कमाएपछि एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्ने सार्वजनिक अभिब्यक्ति दिइरहेका छन् ।
भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीदेखि कांग्रेस नेता बालकृष्णा खाँणसमेतलाई पक्राउ गरिएपछि ट्रेलर मात्रै रहेको पूरा फिल्म आउन बाँकी नै रहेको प्रचण्डले अभिब्यक्ति दिएका थिए ।
मंगलबार संसद बैठकमा सांसद अशिम साहले प्रधानमन्त्रीलाई एक एक राजनीतिक दललाई साइजमा ल्याएको भन्दै राजनीतिक दाउपेच नगरी जनताको मन जितेर सरकारको आयु लम्ब्याउन सुझाव सहितको प्रश्न सोधे ।
सांसद साहको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणलगायत सबै घटनामा राज्यले दबाबरहित तरिकाले निष्पक्ष छानबीन अघि बढाएकै कारण जनतामा सुशासन सम्भव छ भन्ने आशा पलाएको दाबी गरे ।
उनले सरकारका यी कामहरु कुर्सी टिकाउनका लागि नभई बरु देश र जनतामा राजनीतिक प्रणालीप्रति नै वितृष्णा छाएको¸ केही हुन्न सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गर्दै आएको बताए पनि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु भने सहमत छैनन् ।
प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरपछि विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पनि निश्पक्ष रुपमा एक एक प्रकरणको अनुसन्धान गर्न आग्रह गरे ।
सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किन सुरु गरेको प्रधानमन्त्री प्रचण्डले दाबी गरिरहँदा विपक्षी दलका सांसदहरु भने प्रधानमन्त्रविरुद्ध खनिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड भने नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार, अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख भएको बताइरहेका छन् ।
त्यसैले सरकारले जुनसुकै भ्रष्टाचारका फाइलहरु खोले पनि राजनीतिक दाउपेच नगरी मुलुकका लागि हित हुने काम गर्न जरुरी देखिन्छ ।