
काठमाडाैँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले साउन पहिलो साता ६ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको हो । यो लक्षित राजस्वको ०.४४ प्रतिशतको उपलब्धि हो । सरकारले चालु आर्थिक वर्षका लागि राजस्व, गैर–राजस्व, अनुदान गरी १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ रुपैयाँ बराबरको स्रोत सङ्कलनको लक्ष्य राखेको छ । जसमध्ये पहिलो हप्ता राजस्वतर्फ ३ अर्ब ९१ करोड ९ लाख रुपैयाँ उठेको छ भने भन्सार राजस्वतर्फ ३ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
सार्वजनिक यातायात व्यवस्थित बनाइँदै
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीहरुलाई ड्रेस, परिचयपत्र र सवारी साधनको सफाई अभियान सुरु गरेको छ । यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आइतबार आयोजना गरेको एक कार्यक्रममा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी चालक र सहचालकलाई परिचय पत्र, ड्रेस हस्तान्तरण गर्दे अभियान सुरु भएको हो । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक बसको सफाईको प्रतिबद्धता जनाएको छ । राजधानी काठमाडौंमा रहेका सबै सवारी साधनका चालक तथा सहचालकले ड्रेस अनिवार्य रुपमा लगाउनु पर्ने छ । साथै, यातायातको सिट सफाईमा पनि विशेष ध्यान दिनुपर्नेछ ।
आन्तरिक ऋण उठाउँदै सरकार
सरकारले आगामी साउन ९ गते १२ अर्ब ६० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने र ९१ दिने ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले उक्त परिणाम बराबरको आन्तरिक ऋण उठाउने भएको हो । यद्यपि, उक्त ट्रेजरी फ्रेस (नयाँ) भएर पुरानै ट्रेजरी बिलको नवीकरण गरिने राष्ट्र« बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिने ट्रेजरीमा ४ अर्ब रुपैयाँ र ९१ दिने ट्रेजरीमा ८ अर्ब ६० करोड रुपैयाँ नवीकरण हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले साउन ८ गते सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । सोमबार नै बोलकबोल हुने ट्रेजरीको नवीकरण साउन ९ गते हुनेछ ।
काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा ८ अर्बभन्दा धेरैको लगानीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन बन्ने भएको छ । पनौती नगरपालिकाको वडा नम्बर ६ मा उक्त प्रतिष्ठानको भवन निर्माणका लागि राष्ट्रिय प्रहरी प्रतिष्ठानले वातावरण विभागमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस गरेको हो । प्रतिवेदनकाअनुसार कुल ४१.८६ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको प्रतिष्ठानको कुल लागत ८ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ रहने प्रतिवेदनमा उल्लेख छ । ३ वर्षको अनुमानित समय प्रतिष्ठानको भवन निर्माणका लागि लाग्नेछ । निर्माण सम्पन्न भएपछि भने उक्त भवनमा ३ हजार ४ सय ५० जना मान्छेले एकसाथ बस्न सक्ने व्यवस्था रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विदेश भ्रमण जाँदा २५ सय डलर सटही सुविधा
अब विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो । हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलव्ध हुने व्यवस्था थियो । उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पुर्याइएको हो । विदेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो ।