साउनमा राजस्व ४.७३ प्रतिशतमात्र, ४ अर्बको चिया निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व संकलन सुस्त भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन २७ सम्ममा ६७ अर्ब रुपैयाँमात्र राजस्व असुली भएको छ । यो गत वर्षको भन्दा २ अर्ब रुपैयाँ कम हो । जबकि गत आव इतिहासमै सबैभन्दा कम राजस्व उठेको वर्ष हो । सरकारले १४ खर्ब २२ अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । साउन २७ सम्म जम्मा ६७ अर्ब ३१ करोड रुपैयाँ उठेको छ । यो लक्ष्यको ४.७३ प्रतिशतमात्र हो ।

विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयम् घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाइ सजिलै लैजान पाउने कार्यालयले जनाएको छ । विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेसिनमा पुग्नु अगावै स्वयम् घोषणाको सुविधा पाउने कार्यालयले जनाएको छ । यसअघि, विदेशवाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन गरगहना विदेशी मुद्रा टीभी तथा मोकाइल फोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छली कसुरमा कारबाही हुने गरेका थिए ।

४ अर्बको चिया निर्यात

गत आर्थिक वर्ष २०७९–८० मा नेपालबाट करीब ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । भन्सार विभागका अनुसार कुल ३ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करीब १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । नेपालबाट चिया निर्यात हुने प्रमुख मुलुक ९ ओटा रहेका छन् । पहिलोमा रहेको भारतले ३ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ बराबरको चिया आयात गरेको छ । दोस्रोमा रहेको अमेरिकामा १३ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

मर्मतपछि उत्पादन नियमित

गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्युत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएको मन्त्रालयको भनाई छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत तीन सय ७१ र बाँकी अरु संस्थाले निर्माण गरेका आयोजना छन् । सौर्य ऊर्जा र लघु जलविद्युतबाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको छ ।

नेप्सेसँगै घट्यो कारोबार

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । सोमबार बजार ३.६१ अंकले घटेर २०७७.२४ विन्दुमा झरेको हो । २०७९.२५ विन्दुमा खुलेको बजारमा ०.१७ प्रतिशतको गिरावट आएको छ । सोमबार २ अर्ब ९ करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन (आइतबार) बजारमा २ अर्ब ३९ करोडको कारोबार भएको थियो । कारोबारमा आएका मध्ये ६८ कम्पनीको सेयरमूल्य बढ्दा १४५ वटाको घटेको छ । त्यसैगरी ११ कम्पनीको स्थिर नै छ । थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । आज सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक ६.४६ प्रतिशतले घटेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top