
काठमाडाैँ । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । यसअघि ११ जेठमा गाडी भाडादर समायोजन गरेको प्रदेश सरकारले बिहीबारदेखि पुनः भाडा घटाएको हो । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको थियो । त्यसै अनुरुप बागमती प्रदेश अन्तर्गत श्रम,रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत भाडा घटेको छ । यस्तै काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ ।
अर्बौको फलफुल आयात
नेपालमा पछिल्लो समय फलफूल आयातको मात्रा उच्च दरले बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा करिब १६ अर्ब रुपैयाँ भन्दा बढीको फलफूल आयात भएको पाइएको छ । यसमा कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको भएपनि फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । गत आव सात अर्ब नौ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । त्यस्तै, दुई अर्ब १५ करोड ८८ लाख ७६ हजारको अङ्गुर, एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार बराबरको केरा आयात भएको छ । त्यसैगरी अनार, सुन्तला, नास्पाती, किबी लगायतका आयातमा पनि करोडौँ रपैयाँ बाहिरिएको छ ।
सुन प्रकरणपछि अर्थमन्त्रीले गरे विमानस्थल निरीक्षण
अर्थमन्त्री डा.प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयको निरीक्षण गरेका छन् । पछिल्लो समय विमानस्थल भन्सारबाट ठूलो परिणाममा अवैध सुन भित्रिने गरेको तथ्य खुलेपछि मन्त्री महत कार्यलयको निरीक्षणमा पुगेका हुन् । उक्त कार्यालयको निरिक्षण गर्ने क्रममा मन्त्री महतले त्यहाँका कर्मचारीहरुलाई इमन्दारिताका साथ काम गर्न निर्देशन दिएका छन् । गत असार ३० गते हङकङबाट क्याथे प्यासिफिक एयरलायन्सको कार्गो विमानबाट ‘ब्रेक शु’मा राखेर अवैध सुन ल्याउने गरेको खुलेको थियो । विमानस्थल भन्सार कार्यलयबाट जाँचपास भएको उक्त अवैध सुन राजश्व अनुसन्धानको टोलीले समातेको थियो । त्यस यता उक्त सुनबारे अध्ययन–अनुशन्धान तथा छानबिन भइरहेको छ ।
गुनासो टिपाउन लघुवित्त पीडितलाई राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले लघुवित्त ’पीडित’लाई आफ्नो गुनासो टिपाउन आग्रह गरेको छ । लघुवित्त संस्थाबाट ऋण लिएकाहरुले आफु पिडित भएको भन्दै लामो समय देखी आन्दोलन गर्दै आएका छन् । राष्ट्र बैंकले एक सुचना जारी गर्दै कुनै पनि लघुवित्त संस्थाले नियम विपरित काम गरेको पाइएमा कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । लघुवित्त संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायतका कुनैपनि गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न सकिने सुचनामा उल्लेख छ ।
सफ्टवेरिका टेक एक्स्- २०२३ शुुरु
राजधानी काठमाडौँमा सफ्टवेरिका टेक एक्स्–२०२३ सुरु भएको छ । बिहीबारदेखि आईटी तथा ईकमर्स कलेजको रूपमा चिनिदै आएको सफ्टवेरिका डिल्लीबजारस्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरु भएको हो । आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने आयोजकले भनाई छ । प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका एआई र साइबर सुरक्षा क्षेत्रका विभिन्न प्रोजेक्टहरू समेत गरी ३० भन्दा बढी स्टलहरू रहेका छन् । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) देखि होम सेक्युरिटीसहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टमसम्मका नवप्रवर्तनात्मक सिर्जनाहरूको अवलोकन गर्न पाइने भएको छ । त्यस्तै, उक्त कलेजमा इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्स लगायतका विषयको अध्यापन हुने गरेको आयोजकको भनाई छ ।