सार्वभौम देशका गुलामवादी नेताहरु

सार्वभौम देशका गुलामवादी नेताहरु

काठमाडौं । नेपालको राजनीतिमा विदेशी हस्तक्षेप खासै लुकेको विषय होइन भन्दा पनि फरक नपर्ने अवस्था छ ।

मुलुकको राजनीतिमा विदेशी शक्तिहरुले चलखेल गर्ने कुरा दलका शीर्ष नेताहरुले नै बोल्ने गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली दौडको विषय स्वयंम सार्वजनिक गरेपछि विदेशी हस्तक्षेपको बहस फेरि गर्माएको छ ।

यसले नेपाली राजनीति हस्तक्षेपका श्रृङ्खलाले थिलोथिलो पारेको छ भन्न हिचकिचाउनु पर्ने ठाउँ देखिदैन ।

तत्कालीन माओवादीको जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन सात दल र माओवादीले दिल्लीमा ७ बुँदे सम्झौता गरे ।

यसअघि पनि विभिन्न काल खण्डमा नेपालका नेता हुन वा राजा नै किन नहुन्, यता संकट पर्दा भारत जाने गरेका उदाहरणहरु छ्यापछ्यापप्ती छन् ।

शान्ति प्रक्रियामै दिल्लीको भूमिका के थियो ? राजतन्त्र अन्त्यका लागि भारतको भूमिका के थियो भन्ने विषयमा समेत बेलाबेलामा नेपालमा बहस हुने गरेको छ ।

यस्तै, गणतन्त्रपछि नेपालका प्राय प्रधानमन्त्रीले भारतीय गुप्तचर निकायका प्रमुखलाई प्रधानमन्त्रीको बेडरुमसम्मको पहुँच दिएका थुप्रै विषय सार्वजनिक भइसकेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले तत्कालीन समयमा रअ प्रमुख रहेका सामन्य गोयललाई मध्यरातमा भेटेको कुराले ठूलै चर्चा कमाएको थियो ।

नेपालको राजनीतिमा संकट देखिएको बेला यस्तो हुने गरेको नेताहरु आफैले बताउने गरेका छन् । यसरी नै एमाले अध्यक्ष केपी ओलीले पनि एमालेसहितको प्रचण्ड सरकार ढाल्न विदेशी शक्तिहरुले चलखेल गरेको भन्दै आपत्ति नै जनाएका थिए ।

एमालेसहितको सरकार परिवर्तन गर्दै गठबन्धन फेर्न छिमेकी मुलुकले प्रमुख भूमिका खेलिरहेको दाबी केपी ओलीले गर्दै आएका थिए ।

ओलीले यस्तो दाबी गरेको केहि समयमा गठबन्धन पनि फेरियो । तर, ओलीले कुन छिमेकीले यस्तो चलखेल ग¥यो भन्ने जानकारी भने गराएका थिएनन् । यद्दपी, विदेशी हस्तक्षेप खुला छ भन्ने कुरा उनले स्वीकार गरिसकेका थिए ।

त्यसपछि अहिले आएर प्रधानमन्त्री प्रचण्डले आफूलाई नै प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंहले दिल्ली दौड गरेको सार्वजनिक अभिव्यक्ति दिए ।

प्रचण्डको अभिव्यक्ति र ओलीले केहि समय पहिले खुलाएको विषयले नेपालको सरकार निर्माणमा यहाँको कानून, संविधान भन्दा पनि विदेशी शक्ति बलियो छन् भन्ने भाष्य स्थापित गर्न खोजेको देखिन्छ ।

तर, अहिले विदेशी चलखेलको अभिव्यक्तको चौतर्फी आचोलना भएपछि प्रधानमन्त्री प्रचण्ड गलत मनशायले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरिएको भनि प्रतिरक्षा गरिरहेका छन् ।

लोकतन्त्रको दुहाई दिने दलहरु विदेशी हस्तक्षेप लुकेर स्वीकार गर्ने तर खुलेर विरोध गरेजस्तो किन गर्दैछन् ? यो आम प्रश्न हो ।

ओलीले सरकार फेर्न छिमेकीको चलखेल बढेको भन्नु र प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली दौड गरिएको विषयमा सार्वजनिक अभिव्यक्ति दिनु दुवै अतिवाद र गुलामीतन्त्रको उच्चतम् विन्दु नै भएको जानकारहरुको टिप्पणी छ ।

व्यवहारतः नेताहरु कुनै न कुनै हिसाबले विदेशी शक्तिसामु निरिह बन्ने र शक्ति आर्जन गर्न जस्तोसुकै त्याग गर्न तयार रहनुले मुलुकको सार्वभौमिकता कुन हदसम्म खतरामा छ भन्ने अनुमान सहजै गर्न सकिन्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *