सिके राउत पनि बजेटको विरोधमा, पास हुनै नदिने चेतावनी

सिके राउत पनि बजेटको विरोधमा, पास हुनै नदिने चेतावनी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके (चन्द्रकान्त) राउतले सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने चेतावनी दिएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा. राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुनेगरी बजेट संशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने बताएका हुन् । उनले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजान माग गरे ।

‘समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्छ । कार्यान्वयन होला–नहोला छुट्टै कुरा छ । समितिको रुपमा हामीले त्यो जिम्मेवारी निभायौं । कार्यदल भनेको छ त्यसले बजेट संशोधन आवश्यक छ भन्नेकुरा लिएर जानुपर्छ,’ उनले भने, ‘मन्त्री पद सदावहार शासक होइन । मन्त्री बन्दैमा अहंकार देखाउनुपर्छ भन्ने पनि होइन । एक जनाले बजेट निर्माण गर्ने भए यति धेरै सांसदहरु किन आवश्यक पर्ने थियो ? एक जनाले बनाउन नसक्ने भएर नै विभिन्न क्षेत्रबाट जनप्रतिनिधिहरु निर्वाचित भएर आएका छौं । त्यसैले मन्त्रालयले सांसदहरुको कुरा सुनिदिनुपर्छ । बजेट विनियोजनमा पनि सांसदहरुको माग सुनिदिनुपर्छ । सरकारले सुनेन भने त्यो बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरुलाई छ ।’

सरकार पक्षका सांसदहरुलाई पनि उनले बजेट सच्याएर लैजान आग्रह गरे । मधेस प्रदेशभन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट गएको भन्दै राउतले भने, ‘सूदुरपश्चिम प्रदेशको जनसंख्या भनेको २६ लाख छ भने मधेस प्रदेशको ६१ लाख रहेको छ । जनसंख्या वा मानवविकास सूचाङ्कको आधारमा हो भन्ने बजेट सिद्धान्तको आधारमा बजेट निर्धारण गरिनुपर्छ । त्यो अनुसार बजेट संशोधन गर्नुपर्छ ।’

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *