सुटिङ गर्दै निश्चलको दिमाग खराब

सुटिङ गर्दै निश्चलको दिमाग खराब

अभिनेता तथा निर्देशक निश्चल बस्नेत लामो समयको अन्तरालपछि आफ्नो निर्देशन र अभिनयमा नयाँ फिल्म दिमाग खराबका साथ पर्सि शुक्रबारदेखि दर्शकमाझ आउँदै छन्।

निर्देशनमा लामो समयपछिको कमब्याक राम्रो कामको लागि भएको र यो फिल्मले दर्शकको राम्रो साथ पाउने आशा रहेको निश्चलले बताए। ‘म आफूलाई ६ वर्षको विश्राम लामो भयो भन्ने रियलाइज भएको छ। मैले रेगुलर फिल्म बनाइरहनुपर्छ। गल्तीबाट सिक्दै जाने भन्ने कुरा महसुस भइरहेको थियो’ राजधानीमा आयोजित पत्रकार भेटघाटमा निश्चलले भने ‘यो फिल्मले राम्रो हिसाबले दर्शकको दिमाग खराब गर्छ र अब के होला भन्ने उत्सुकता पैदा गर्छ भन्ने लाग्छ।

फिल्म हेरेको मज्जा आयो भन्दिनुहुन्छ कि भन्ने आशा गरेको छु।’ फिल्मको नामबारे प्रष्ट पार्दै निश्चल भन्छन्, ‘यो फिल्म इन्द्र शर्मा भन्ने पात्रको जर्नी हो, साधारण मान्छेको कथा हो। अझ भन्नुपर्दा सामाजिक ड्रामा हो र यो फिल्म कमन म्यानको संघर्षको कथा हो। उसको लाइफमा भएको घटनाले अरुको दिमाग कसरी कति खराब गर्छ भन्ने कथा हो।

फिल्मको कन्टेन्टलाई लिएर नै दिमाग खराब नाम दिएको हो।’ निश्चलले फिल्मको सुटिङको बेला आफ्नै दिमाग खराब भएको सुनाए। ‘फिल्म खिच्दा जसरी प्लान गरेको हुन्छ त्यो नहुँदा दिमाग खराब भएको थियो। फिल्मको दृश्यमा घर जलेको खिच्नुपर्ने थियो। घर जल्ने प्रोसेस थियो तर जलेको पार्ट लिनुभन्दा अघि नै एक्सिडेन्टिली घर जल्यो। घटनाक्रमअनुसार जल्नुपर्नेमा त्यो अनुसार नभएपछि एकछिनलाई अब के गर्ने भन्ने दिमागले कामै गरेन, प्लान चौपट भयो र पहिलेको जस्तो बनाउनुपर्ने भयो।

दिमाग शून्य भएको थियो। त्यो दिन सिन नखिची जति थियो, त्यतिमा चित्त बुझाएर गइयो र सेट फेरि तयार गर्न लगाएर त्यो दृश्य पछि लिइयो’ उनले भने। फिल्मलाई अझ राम्रो बनाउन र आफ्नो लेखनमा भएको कमीकमजोरीलाई सुधार्नका निम्ति स्क्रिप्ट डक्टर राखिएको निश्चलले बताए। ‘म पनि फिल्मको स्क्रिप्ट लेख्छुु, लेख्दै जाँदा आफ्नो कमीकमजोरी थाहा हुँदैन। मेन प्लट छोडेर सब प्लटतिर लागिरहेका हुन्छौँ। त्यही कारण पनि स्क्रिप्ट डक्टरको फिल्ममा महत्व छ’ निश्चलले सुनाए। फिल्ममा मनोज पण्डित स्क्रिप्mट डक्टर रहेका छन्।

अभिनेता खगेन्द्र लामिछानेले कुनै पनि काम गर्दै गर्दा त्यसको नतिजा के होला भन्ने तनाव लिएर काम नगर्ने बताए। ‘काम गर्दा प्रेसर लिए पनि नलिए पनि रिजल्ट उस्तै हो। कामको दौरानमा थकान हुनु स्वाभाविक नै हो। तर, यसले मेरो करिअर के होला भन्ने हिसाबले काम गर्दिनँ। जुनै काम गर्दा खुरुखुरु काम गर्दा रिजल्ट आउँछ। उत्कृष्ट काम गर्दा आफ्नै खालको कमी कमजोरी हुन्छन स्वभाविक हो’ खगेन्द्रको भनाइ थियो। उनले आफ्नो फिल्म भष्मे डनबाट स्क्रिप्ट डक्टरको सुुरुवात गरेको र त्यसप्रति केही व्यक्तिले नै मजाक गरेको जनाउँदै त्यसो नगर्द सुझाए।

अभिनेत्री स्वस्तिमा खड्काले आफूले कुनै पनि काम गर्दा महिला पूरुषभन्दा पनि मानव भएर सोच्ने र सोहीअनुरूप काम गर्ने गरेको बताइन्। ‘ह्युमन भएर सोच्दा मलाई के चाहिन्छ भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ। फिल्ममा महिला पात्रले पुरुष पात्रलाई विदेश जान कर गरेको छ। तर, किन कर गरेको भन्ने कारण पनि छ, जुन फिल्म हेरेपछि बुझिन्छ’ स्वस्तिमाले सुनाइन् ‘मैले निश्चललाई बेला बेलामा हजुरको फिल्ममा फिमेल क्यारेक्टर वेल रिर्टन हुँदैन है भन्ने गर्छु। महिला पात्र सेकेन्ड थर्ड लेयरमा हुन्छ भनेर कम्प्लेन गरिरहेका हुन्थे।’

फिल्मका लेखक आकाश बरालले फिल्म लेख्दा फिल्म लेखिरहँदा स्क्रिप्ट डक्टरको आवश्यक छ भन्ने महशुष भएको बताए। ‘स्क्रिप्ट डक्टरको चलन भष्मे डनबाट शुरु भएको हो। स्क्रिप्ट डक्टरलाई स्क्रिप्ट चेन्ज गर्ने अधिकार हुन्छ’ बरालले भने। रौनक विक्रम कँडेलद्वारा निर्मित फिल्ममा दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया, गौरवी आरएल सिश, गीता अधिकारी, गीता विष्ट, राजन खतिवडा, डा. केहल सिह, कृष्णभक्त मर्हजन, धिरज भट्ट, राहुल शिवाकोटी, योगेश खड्का, प्रवीण खरेल, नवीन खड्का, प्रकाश भुजेल लगायतले अभिनय गरेका छन्। सुसन प्रजापतिको छायाकंन रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *