
मंसिर ५ ,
NPL नेपाल प्रिमियर लिग २०२५ को छैटौँ खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ। उत्कृष्ट ब्याटिङ प्रदर्शनपछि बलिङ क्षेत्रमा पनि सुदूरपश्चिमले नियन्त्रण राख्दै जीत हात पारेको हो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनायो। टोलीका जे. ब्राउनले ३६ बलमा ६८ रनको धमाकेदार इनिङ्स खेले। उनलाई बिनोदले ४३ रन, लिनले ३१ रन र दिपेन्द्रले १५ रन को साथ दिएका थिए।
पोखरा एभेन्जर्सतर्फ निशमले ४ ओभरमा ३ विकेट लिए भने डउथवेटले २ विकेट झारे।
जवाफी लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेटका लागि १७५ रन मात्र बनाउँदै पराजित भयो। कुशल भुर्तेलले ३२ बलमा ५३ रन र निशमले २५ बलमा ४७ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन। बलिङतर्फ सुदूरपश्चिमका हरमितले २ विकेट, भने अविनाश, कुगेलेजिन र नरेनले १–१ विकेट लिए।
खेलको समग्र प्रदर्शनमा सुदूरपश्चिम रोयल्स आक्रमक र योजनाबद्ध खेल देखाउँदै प्रतियोगिताको महत्वपूर्ण जित दर्ता गर्न सफल भयो। रोयल्सले १८ रनको जितसँगै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाएको छ।


